मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चार्ल्स शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश

चार्ल्स शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश


काठमाडौँ । सर्वोच्च अदालतले बिकिनी किलर चार्ल्स शोभराज (गुरुमुख) लाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको छ ।
     
न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार निजलाई आजै कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको हो । 
 
“अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन आवश्यक व्यवस्थासमेत गर्न यो आदेश जारी गरिएको छ”, सर्वोच्चको आदेशमा भनिएको छ, “सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय जगन्नाथ देवल काठमाडौँमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनू ।”
     
शोभराजको तर्फबाट अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा अदालतले निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानवअधिकार मापदण्ड, संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल नदेखिएको व्याख्या गरेको छ ।
     
आदेशमा शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा मुटुसम्बन्धी रोगबाट पीडित भई उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको उल्लेख छ । 
 
फ्रान्सेली नागरिक शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । रासस
 

शेयर गर्नुहोस:

351
Shares