मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको विपद् जोखिमबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्नेमा जोड

नेपालको विपद् जोखिमबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्नेमा जोड


काठमाडौँ । नेपालको विपद् जोखिमबारे अन्तर्राष्ट्रिय मञ्चमा एकीकृतरुपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । 
 
अष्ट्रेलियामा गत असोज ३ देखि ६ गतेसम्म आयोजना भएको प्रकोप जोखिम न्यूनीकरणका लागि एशिया–प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा नेपालको सहभागिता तथा सम्मेलनको मुख्य सन्देशबारे शुक्रबार राजधानीमा भएको समीक्षा बैठकमा सहभागीले उक्त विषयमा जोड दिएका हुन् ।  
 
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको आयोजनामा भएको समीक्षात्मक छलफलमा सहभागीले सम्मेलनपूर्व गरिएका बैठक तथा छलफलको परिणामस्वरुप सम्मेलनमा नेपालको सहभागिता उत्साहजनक र प्रभावकारी रहेको उल्लेख गरे ।  
 
सम्मेलनबाट एसिया प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सन्दर्भको जानकारी लिन तथा आगामी बाटो तय गर्न ठूलो सहयोग मिलेको र आगामी दिनमा यस्ता मञ्चमा नेपालका सफल अभ्यासलाई व्यवस्थितरुपमा लैजानु पर्ने सहभागीको धारणा थियो ।
 
कार्यमञ्चका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सम्मेलन आयोजनाका क्रममा अस्ट्रेलियाले रैथाने समुदाय तथा तिनको ज्ञानलाई असाध्यै महत्त्व दिएको दृष्टान्त पेश गरे । उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहको सहभागिता अनुकरणीय रहेको बताए । 
 
पोखरेलले अस्ट्रेलियाका विपद्सम्बन्धी अधिकारीसँगको भेटका क्रममा उनीहरुले आगलागी, वन डढेलो र बाढी नियन्त्रणमा गरेका अनुभव तथा सहयोग नेपालमा ल्याउने विषयमा छलफल भएको बताए । 
 
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले सम्मेलनको आधिकारिक घोषणापत्रमा नेपालले उठाएका विषयवस्तु समावेश भएको जानकारी दिए । रासस