मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मनास्लु आधार शिविरमा हिमपहिरो : १२ घाइते, तीनको अवस्था गम्भीर, एक विदेशी नागरिक सम्पर्कविहीन

मनास्लु आधार शिविरमा हिमपहिरो : १२ घाइते, तीनको अवस्था गम्भीर, एक विदेशी नागरिक सम्पर्कविहीन


काठमाडौँ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए । 
 
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए । 
 
उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको र दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 
 
उद्धार गरिएका चारै जनाको पहिचान खुल्न नसकेको उनले बताए । घटनास्थलबाट उद्धार गरिएका दुई घाइतेलाई भने सिम्रिक एयरको हेलिकप्टरमार्फत सामागाउँ ल्याएर र लगत्तै कैलाश एयरमार्फत राजधानी लगिएको उनले बताए । ढिलो गरी उद्धार गरिएका थप दुईलाई भने मौसम खराबी कारण सामागाउँसम्म पनि ल्याउन नसकिएको उनको भनाइ छ ।
 
उनीहरुको अनुहार चिन्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ‘थप दुईको पनि तेस्रो आधार शिविरबाट उद्धार भएको छ, प्रनाउ लामिछानेले भने, “अहिले पहिलो आधार शिविरमा ल्याएको भए पनि मौसम खराबीका कारण सामागाउँसम्म पनि ल्याउन सक्ने अवस्था छैन, आज अब पहिलो आधार शिविरमै रहन्छ ।”
 
अन्य बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिलो आधार शिविरबाट विभिन्न चार एजेन्सीमार्फत १३ जना तेस्रो आधार शिविरतर्फ गएकाले उनीहरु सबै पहिरोमा परेको हुनसक्ने आङ्शका गरिएको प्रनाउ लामिछानेले जानकारी दिए । 
 
मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान हिमपहिरो गएको हो । गोरखा प्रहरीका अनुसार शनिबारसम्म मात्रै पनि मनास्लु हिमाल चढ्न गएका ३३३ विदेशी पर्यटक आधार शिविर पुगिसकेका छन् । 
 
चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् । सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् ।
 
पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । 
 
यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् । रासस