तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक करिब २० मिटर सडक भाँसिएको छ ।
भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण शुक्रबार बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकलका चालक भने सकुशल भेटिएका छन् ।
कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे र हेटौँडा नगरपालिका–७का वर्ष ३३ का हेमबहादुर भुजेल रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुवै शव दमौली अस्पतालमा राखिएको छ ।
भित्ता काट्न सुरू
पृथ्वीराजमार्ग भासिएर यातायात अवरूद्ध भएपछि भित्ता काट्न सुरू गरिएको छ । यातायात सुचारू गराउनका लागि सडक छेउको भित्ता काट्न सुरू गरिएको हो । भित्ता काटेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।
सडक अवरूद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरुपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ ।
सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ
सो सडक भासिएर सडक अवरूद्ध भएका कारणा गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको छ । उक्त रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरूङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट शुक्रबार काठमाडौँ लगिएको हो ।
प्रतिक्रिया