मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पृथ्वी राजमार्गमा वर्षाले सडक भाँसियो, कार पुरिँदा दुई जनाको मृत्यु

पृथ्वी राजमार्गमा वर्षाले सडक भाँसियो, कार पुरिँदा दुई जनाको मृत्यु


नहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक करिब २० मिटर सडक भाँसिएको छ । 
 
भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण शुक्रबार बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकलका चालक भने सकुशल भेटिएका छन् ।
 
कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ का ३५ वर्षीय केशव घिमिरे र हेटौँडा नगरपालिका–७का वर्ष ३३ का हेमबहादुर भुजेल रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुवै शव दमौली अस्पतालमा राखिएको छ ।
 
भित्ता काट्न सुरू
 
पृथ्वीराजमार्ग भासिएर यातायात अवरूद्ध भएपछि भित्ता काट्न सुरू गरिएको छ । यातायात सुचारू गराउनका लागि सडक छेउको भित्ता काट्न सुरू गरिएको हो । भित्ता काटेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । 
 
सडक अवरूद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरुपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ । 
 
सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 
 
बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ 
 
सो सडक भासिएर सडक अवरूद्ध  भएका कारणा गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको छ । उक्त रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरूङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट शुक्रबार काठमाडौँ लगिएको हो ।