मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा मंगलबार थपिए १९५७ सङ्क्रमित, ११ जनाको मृत्यु

नेपालमा मंगलबार थपिए १९५७ सङ्क्रमित, ११ जनाको मृत्यु


काठमाडौँ । नेपालमा मंगलबार पछिल्लो २४ घन्टामा थप एक हजार ९५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सोमबारको तुलनामा यो ३८७ जनाले बढी हो । सोमबार एक हजार ५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । 
 
पछिल्लो २४ घन्टामा १२ हजार ६९२ नमुनाको एन्टिजेन र पिसिआर विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट गरिएको आठ हजर ५८७ परीक्षणमा एक हजार १८४ र चार हजार १०५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७७३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  
 
पछिल्लो २४ घन्टामा पाँच हजार १०३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २० हजार ५९२ पुगेको छ । नेपालमा निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
 
नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६८ हजार ६११ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३५ हजार ६०५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ९१ हजार ९५९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ९९ हजार ४८१  पुगेको छ । मुलुकमा कुल सङक्रमण दर १८ दशमलव तीन प्रतिशत रहेको छ ।
 
यस्तै, कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घन्टामा दुई लाख ७३ हजार ३४९ रहेको छ । मुलुकभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार १८१ रहेको छ । 
 
पछिल्लो २४ घन्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत रहेको छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८९ दशमलव सात रहेको मन्त्रालयले जनाएको छ । 
 
हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या ३८ र आइसियूमा २५६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा ३४ हजार ९८३, संस्थागत आइसोलेसनमा एक हजार १९८ र क्वारेन्टिनमा १३३ जना रहेका छन् । 
 
हाल ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली रहेका छन् । 
 
दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, स्याङजा, बाग्लुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन् । हाल शून्य सङ्क्रमित रहेको एकमात्र जिल्ला मनाङ रहेको जनाइएको छ । 
 
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा आठ हजार ९४२, ललितपुर पाँच हजार २८३ र भक्तपुरमा दुई हजार ६०४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
 

शेयर गर्नुहोस:

243
Shares