मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

व्यवस्था होइन, मुलुकको अवस्था बदलौँ : महामन्त्री शर्मा

व्यवस्था होइन, मुलुकको अवस्था बदलौँ : महामन्त्री शर्मा


झापा। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक व्यवस्था नभई अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन जरुरी भएको बताएका छन् । 
 
महामन्त्री पदमा निर्वाचित भएपछिबुधबार पहिलोपल्ट गृह जिल्ला आएका उनले झापा र झापालीलाई आभार व्यक्त गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै लोकतन्त्र र संसदीय व्यवस्थाको विकल्प नखोज्न र राजतन्त्र पुनःस्थापनाको भ्रम नफैलाउन आग्रह गरे । संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो निर्वाचनबाट बहुमत ल्याएर मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणको अगुवाई गर्ने उनको भनाइ थियो ।
 
“ठूलो पदमा पुगेँ भनेर म आफू जन्मेको जिल्लामा बधाई थाप्न पनि आएको होइन”, महामन्त्री शर्माले भने, “जुन दिन नेपाली कांग्रेसलाई बलियो बनाउँछु त्यही बेला बधाई पाउने हक राखुँला तर अहिलेलाई तपाईंहरुप्रति हार्दिक आभार व्यक्त गर्न आएको हूँ, शुभकामना लिन आएको हूँ ।”
 
उनले पार्टीको १४औँ महाधिवेशनले आमकार्यकर्तामा ऊर्जा भरेको चर्चा गर्दै चुनावमा भएको हार जितलाई लिएर कसैले कसैसँग पनि पूर्वाग्रही र विभेद्पूर्ण व्यवहार नगर्न अनुरोध गरे । उनले आफूलाई आम कार्यकर्ताले विवेकको मत दिएको हुँदा पार्टीलाई सबल र सशक्त बनाउन दृढतापूर्वक लाग्ने बताए । 
 
उनले झापा जिल्ला विद्रोहको विम्ब भएको र मुलुकको प्रजातान्त्रिक एवं वामपन्थी आन्दोलनको विद्रोह झापामै भएको उल्लेख गर्दै आफूले महामन्त्रीको उम्मेदवार हुँदै गर्दा वाचा गरेको २४ बुँदे अवधारणा पूरा गराउन प्रतिबद्ध रहेको बताए । 
 
काठमाडौँबाट बुधबार चन्द्रगढी विमानस्थलमा आइपुग्दा उनलाई कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए । उनले त्यहाँबाट मेची बहुमुखी क्याम्पसको हातामा पुगेर विसं २०४६ का शहीद राम थापाको सालिक र चन्द्रगढीमा रहेको जननायक विशेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण र श्रद्धासुमन अर्पण गरेका थिए । 
 
चन्द्रगढी विमानस्थलमा हवाइजहाजबाट ओर्लिनासाथ उनले भुइँमा निधारले ढोगेर गृहभूमिप्रति अगाध श्रद्धा व्यक्त गरेका थिए । “जुन धरतीले मलाई जन्मायो, जुन माटोमा मैले हुर्किने र खेल्ने मौका पाएँ, त्यही माटोप्रति मेरो श्रद्धा हो यो”, उनले भनेका थिए । आभार व्यक्त गर्न बिर्तामोडको अग्रसेन भवनमा आयोजित कार्यक्रममा मञ्च खाली राखेर उनी र अतिथिहरु आमकार्यकर्ता बसेकै लहरमा बसेका थिए । 
 
मञ्चमा शहीदका तस्बिरमात्र राखिएको थियो । कार्यक्रममा स्वागत मन्तव्यसमेत २०६२र०६३ को जनआन्दोलनका शहीद राजन गिरीका पिता शमशेर गिरीले राखेका थिए । रासस

शेयर गर्नुहोस:

27
Shares