सौराहा । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो पटक केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको छ ।
नेकपा एमालेको नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गरेका छन् । उनलाई निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले शपथ खुवाएका हुन् । अध्यक्ष ओलीले अरु पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ खुवाए ।
यसअघि सुब्बाले एमालेको अध्यक्षमा ओलीलाई विजयी घोषणा गरेका थिए । ओलीसँग भीम रावल २२३ मत ल्याएर पराजीत भएका थिए । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खसेको थियो ।
१९ पदाधिकारीमा ५ सर्वसम्मत
नेकपा एमालेको दशौँ महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । मंगलबार बिहान सौराहाको सेभेन स्टार होटलमा भएको मतदानपछि एमालेले अबको पाँच वर्षका लागि नयाँ नेतृत्व पाएको हो ।
एमालेको यो महाधिवेशनले आगामी ५ वर्षका लागि अध्यक्षमा ओलीसहित १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य निर्वाचित गरेको छ । १९ जना पदाधिकारीमध्ये ५ जना सर्वसम्मत भए भने १४ जनाका लागि निर्वाचन भएको थियो ।
१९ मध्ये ९ जनाले पदाधिकारीमा डेब्यु गरेका छन् । सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा, विष्णु रिमाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ एमाले पदाधिकारीमा पहिलोपटक निर्वाचित भएका हुन् ।
जसमध्ये पाण्डे, नेम्वाङ, थापा उपाध्यक्षमा निर्वाचित भएका छन् । उपमहासचिवमा विजयी भएका रिमाल र सचिवमा विजयी भएका अर्याल, विश्वकर्मा, भट्ट, रायमाझी र महासेठ पनि पदाधिकारीमा पहिलोपटक निर्वाचित भएका हुन् ।
१७ बुँदे प्रस्ताव पास
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । साथै १७ बुँदे प्रस्ताव पास गरेको छ । नयाँ कमिटीको शपथ ग्रहणका लागि आयोजित समारोहमा उपमहासचिव प्रदीप ज्ञवालीले पेश गरेका १७ बुँदे प्रस्ताव हलले पास गरेको छ
प्रतिक्रिया