मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आन्तरिक लोकतन्त्रलाई सुदृढ र सशक्त बनाउँदै कांग्रेस

आन्तरिक लोकतन्त्रलाई सुदृढ र सशक्त बनाउँदै कांग्रेस


चितवन । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताबारेमा सटीक टिप्पणी गर्न थालेका छन् । जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र सम्मानका  अभिव्यक्तिले सामाजिक सञ्जाल ‘भाइरल’ नै भएको छ ।  
 
निर्वाचनमा पराजित भएको जनाउँदै कतिपयले चोक–चौराहामा गालीगलौचमा समय खर्चनेको पनि कमी छैनन् । मानौँ कि उनीहरु विपक्षी दलहरुसँग जित र पराजित भइरहेका छन् । 
 
स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा विपक्षीसँग लड्दा जुन ऊर्जा कांग्रेसले बोकेको थियो त्योभन्दा थप ऊर्जा आफ्नै पार्टीका नेता, कार्यकर्तालाई हराउन र जिताउनमा कांग्रेसी कार्यकर्ताले समय खर्चेकामा पुराना पुस्ताका कांग्रेसका नेता चिन्तित छन् । 
 
पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन गाउँ तहदेखि नै चुनाव हुने गरेको छ । कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरूङ आफूले सात–आठवटा निर्वाचनमा प्रतिस्पर्धासँगै सम्पन्न पनि गरेको भए पनि अहिलेको जस्तो नभएको बताउँछन् । 
 
उनी भन्छन्, “कांग्रेसको अहिलेको विधान परिवर्तन गर्नुपर्छ ।” पैसा नहुनेले निर्वाचनमा भाग लिन नसक्ने अवस्था बनेको  उनको बुझाइ छ । आफूले अहिलेसम्म आन्तरिक निर्वाचनमा पोस्टरसमेत नटाँसेको जनाउँदै उनी भन्छन्, “आन्तरिक निर्वाचन हारेपछि चोकचोकमा बसेर गालीगलौच गर्नु राम्रो होइन ।” पार्टी नेता, कार्यकर्तामा अनुशासनको कमी भएकामा उनलाई चिन्ता छ ।
 
पूर्वराज्यमन्त्रीसमेत भएका कांग्रेस चितवनका पूर्वसभापति शेषनाथ अधिकारी पार्टीभित्रको आन्तरिक निर्वाचनमा तल्लोस्तरको गातिविधि भएको जानकारी दिन्छन् । पार्टीभित्रको निर्वाचन प्राविधिक पक्ष भएको जनाउँदै उनले यसमा हार–जित नहुने बताए । उनले भने, “यो छनोट हो, हार–जित होइन ।” 
 
साङ्गठनिक प्रक्रियाका लागि नेतृत्व चयन गर्नुपर्ने भए पनि यसलाई बुझाउन नसक्दा समस्या आएको उनको बुझाइ छ । उनी भन्छन्, “सङ्गठनको नेतृत्व चयन मात्र हो भनेर बुझाउन जरूरी छ । प्रशिक्षण कमजोर भयो ।” कांग्रेसको मर्म बुझाउन नसकिएको हो कि भन्ने उनमा चिन्ता छ । 
 
तत्कालीन संविधानसभा सदस्य एवं नेपाली कांग्रेस चितवनका पूर्वसभापति रामकृष्ण घिमिरे तडकभडक र वैमनस्यता हुन नहुने बताउँछन् । 
आफ्ना साथीलाई जित्दा र हार्दा धेरै खुसी र निराश हुनुपर्ने अवस्था आउन नहुने उनको बुझाइ छ । ठूलो पार्टी भएकाले धेरैका आशा पदमा हुनु स्वाभाविक रहेको जनाउँदै उनी आन्तरिक नेतृत्व चयनलाई पेचिलो हुने गरी व्यवहार प्रदर्शन गर्न नहुने सुझाव दिन्छन् । विपक्षीहरुसँग लड्नका लागि आन्तरिक निर्वाचनले थप बलियो वनाउने गरी गतिविधि गर्नुपर्ने उनको राय छ । 
 
अर्का जिल्ला पूर्वसभापति टीकाराम न्यौपाने पार्टीका नेता, कार्यकर्ता अनुशासित  बन्न र पार्टीको आन्तरिक निर्वाचनमा आर्थिक चलखेल हुन दिनुहुँदैन भन्छन् । उनी भन्छन्, “यसरी नै अघि बढ्यो भने पार्टी कमजोर बन्छ ।” पार्टीमा योगदान दिएकालाई जिम्मेवारीमा ल्याएर सङ्गठन बलियो बनाउनुपर्ने उनको भनाइ छ । आन्तरिक निर्वाचन भड्किलो बन्न नहुने पूर्वसभापति न्यौपाने बताउँछन् । 
 
झन्डै पाँच वर्ष छ महिनापछि कांग्रेसको गाउँदेखि जिल्लासम्म निर्वाचन भइरहेको छ । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा पराजय व्यहोरेको कांग्रेसलाई अबको निर्वाचनमा पहिलो शक्ति बनाउनुपर्ने पुराना नेताहरु बताउँछन् । स्थानीय निर्वाचनको संघारमा भइरहेको अहिलेको आन्तरिक निर्वाचनले असर पैदा गर्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ । 
 
जिल्लाका पूर्वसभापति पछिल्लो समयको भड्किलो आन्तरिक निर्वाचनलाई व्यवस्थित गरी पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिन्छन् । नेता, कार्यकर्तालाई बुझाउन नसक्दा आफ्नो क्षमताभन्दा फरक पदमा उमेदवारी दिने, भड्किलो प्रचार गर्ने, पराजित भएपछि गालीगलौचमा उत्रने गर्दा यसको प्रत्यक्ष असर विपक्षीसँग लड्ने निर्वाचनमा देखिन सक्नेमा उनीहरुको चिन्ता छ । रासस