चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका छवटै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार भएको मतदानबाट पार्टीभित्रको नयाँ नेतृत्व छानिएका हुन् । शुक्रबार राति अबेरसम्म मतगणना गरी सबै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए ।
शुक्रबार राति सम्पन्न मतगणनानुसार चितवन क्षेत्र नं १ (क) को सभापति पदमा गणेश मल्ल ठकुरीले झिनो मतान्तरले जीत हात पारेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी कृष्णबहादुर श्रेष्ठलाई जम्मा एक मतले पछि पादै जीत हात पारेका हुन् । ठकुरीले १७६ मत ल्याउँदा श्रेष्ठले १७५ मत ल्याएका थिए । नेपाल तरूण दलका क्षेत्रीय सभापति एवम् कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधि प्रज्ज्वल दवाडीका अनुसार खैरहनीको पुन समाजको भवनमा निर्वाचन भएको यस क्षेत्रमा ३६४ मतदाता रहेकामा ३५७ मत खसेको थियो ।
क्षेत्र नं १ (ख) मा गोविन्द गौतम २७९ मतसहित सभापति पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रामहरि न्यौपानेले २६५ मत प्राप्त गर्न सफल भए भने अर्का प्रतिस्पर्धी सुजन थापाले जम्मा १९ मतका साथ पछि परे । कुल ५८७ मतदाता रहेको यस क्षेत्रमा ५८१ मत खसेको मतदान अधिकृत शिवराज अधिकारीले जानकारी दिए । यस क्षेत्रको निर्वाचन टाँडीस्थित होटल स्टारमा भएको थियो ।
क्षेत्र नं २ (क) मा हरिप्राद भण्डारी र राजकुमार गुरूङलाई पछि पार्दै जनार्दन दाहालले बिजय हासिल गरेका छन् । दाहालले २२९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी हरिप्रसाद भण्डारीले १९५ मत पाए भने राजकुमार गुरूङले जम्मा ५० मतमात्रै प्राप्त गरे । ५०२ जना मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ४९५ मत खसेको मतदान अधिकृत सुशील घिमिरेले जानकारी दिए । यस क्षेत्रको निर्वाचन उद्योग वाणिज्य संघ चितवन परिसरमा भएको थियो ।
क्षेत्र नम्बर २ (ख) मा रोशन शाही ठकुरीले सभापति पदमा जीत हासिल गरेका छन् । तीन जनाले प्रतिस्पर्धा गरेकामा शाहीले २६१ मत ल्याएर सभापतिमा जीत हासिल गरेका हुन् । मतदान अधिकृत मुन्नाबिक्रम खातीका अनुसार निर्वाचित ठकुरीका प्रतिद्वन्द्वी करूणाकान्त पोख्रेलले १९८ मत ल्याएका थिए भने अर्का प्रतिस्पर्धी रचन कार्कीले जम्मा २३ मतमात्रै ल्याउन सफल भए ।
भरतपुर–४, यज्ञपुरीस्थित संगोल पार्टी प्यालेसमा भएको मतदानमा कुल ५०२ मतदाता रहेकामा ४९५ मत खसेको मतदान अधिकृत खातीले जानकारी दिए । क्षेत्र नं ३ (क) मा खेमनारायण सापकोटा विजयी भएका छन् ।
प्रदेशको लागि सबैभन्दा ठूलो निर्वाचन क्षेत्र मानिने यस क्षेत्रमा ६१८ जना मतदातामध्ये ६०८ जनाले मतदान गरेका थिए, जसबाट विजयी बनेका सापकोटाले ३०८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कमलनाथ पौडेलले १५८ मत पाए भने शालिग्राम पौडेलले ११८ प्राप्त गर्न सफल भएको मतदान अधिकृत हरिहर दवाडीले जानकारी दिए । यस क्षेत्रको निर्वाचन शारदानगरस्थित शहीद स्मारक कलेज परिसरमा भएको थियो ।
क्षेत्र नम्बर ३ (ख) मा शोभाखर चापागाईं विजयी भए । उनले तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै जीत हात पारेका हुन् । चापागाईंले १४७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी ओमप्रसाद पोख्रेलले ९९ मत ल्याए भने रामबहादुर कुवँरले ७८ र अशोक लामाले २८ मतमा चित्त बुझाए । पार्वतीपुरको सत्कार पार्टी प्यालेसमा भएको निर्वाचनमा ३६६ मत खसेको थियो । यस क्षेत्रको निर्वाचन पावतीपुरमा रहेको सत्कार पार्टी प्यालेसमा भएको थियो ।
प्रतिक्रिया