विचार / ब्लग

रमा एकादशी र यसको पौराणिक महिमा

रमा एकादशी र यसको पौराणिक महिमा


हिन्दु पञ्चाङ्गअनुसार कार्तिक मास कृष्ण पक्षको एघारौँ दिनमा पर्ने एकादशीलाई रमा एकादशी भनिन्छ । हरिप्रिया लक्ष्मी माताका नामहरुमध्ये यौटा नाम रमा भएको कारणले गर्दा यस एकादशीको नाम रमा एकादशी रहन गएको कुरा स्कन्दपुराण, पद्मपुराणमा उल्लेख छ । कार्तिक महिना भगवान् विष्णुको अतिप्रिय महिना हो । 

 
चार महिनासम्म क्षीर सागरमा शयन गरेका विष्णु भगवान् यस दिन उठ्छन् भन्ने किम्बदन्ती छ । यस एकादशीको चार दिनपछि लक्ष्मी पूजाको दिन पर्दछ । कार्तिक मास महात्म्यको समयमा पर्ने यस एकादशीको झन् ठूलो महिमा छ । यस एकादशीको व्रतका प्रभावले जीवन भर सुख, ऐश्वर्य र वैभव प्राप्त गरी मृत्युपश्चात् बैकुण्ठलोक प्राप्त हुन्छ भनेर व्रह्मवैव्रत पुराणमा जनाइएको छ । जन्म–जन्मान्तरदेखि गरिएका पापहरु जति सबै नष्ट गराएर जीवनको अन्त्यमा मोक्ष प्रदान गर्ने यस रमा एकादशीमा लक्ष्मी माताको पनि सँग–सँगै पूजा अर्चना गर्ने गरिन्छ ।
 
द्वापरयुगमा धर्मराज युधिष्ठिरले कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको बारेमा केही जान्ने जिज्ञासा राखेर श्रीकृष्णसँग सोधे । श्रीकृष्णले युधिष्ठिरको प्रश्नको उत्तर दिँदै एक पौराणिक कथा पनि उनलाई सुनाए जो यस प्रकारको छ–
 
परापूर्वकालमा मुचुकुन्द नाम गरेका एक धर्मात्म राजा थिए । यिनको इन्द्रदेव, बरुणदेव, अरुणदेव, कुबेर, विभिषण आदिसँग घनिष्ट मित्रता थियो । यी राजा सत्यवादी, प्रजावत्सल र विष्णुभक्त थिए । उनको राज्य निष्कंटक थियो । उनकी एक चन्द्रभागा नाम गरेकी छोरी थिइन् जसको विवाह राजा चन्द्रसेनका पुत्र शोभनसँग भएको थियो । राजा मुचुकुन्दले हरेक एकादशीका दिन विधिपूर्वक व्रत, उपासना गर्थे । उनका राज्यमा अरु सबै प्रजाहरुले पनि यो नियमको पालना गर्थे । एक पटक शोभन आफ्ना ससुरालीकहाँ कार्तिक मासमा आएका थिए । 
 
महापुण्यदायिनी रमा एकादशीको दिन नजिकै आउँदै थियो, जुन दिन त्यस राज्यका सबैले अनिवार्यरूपले व्रत गर्नु पर्दथ्यो । चन्द्रभागाले मनमन सोचिन्– मेरा पति कमजोर छन्, उनले कसरी यो व्रत गर्लान ? त्यसै समयमा उनका पिताबाट दशमीका दिनमा ढोल बजाएर रमा एकादशीको व्रत सबैले गर्न भनी राज्यमा उर्दी जारी भयो । चन्द्रभागा आफ्ना पतिका बारेमा याकुल–व्याकुल भइन् । 
 
राजाको उर्दी सुनेर शोभन अतालिँदै आफ्नी पत्नीसँग गएर भने– हे पिय ! अब मैले के गर्ने ? तिमीले नै मलाई केही उपाय भए बताऊ । यदि मैले यो व्रत गरेँ भने म पक्कै पनि मर्नेछु । पतिको यस्तो कुरा सुनेर चन्द्रभागाले भनिन्– ‘हे स्वामी ! मेरा पिताको राज्यमा एकादशीका दिन कसैलाई पनि भोजन गर्ने अनुमति छैन । यस दिन यहाँका हात्ती, घोडा, ऊँट, कुकुर, बिरालो, पशु आदिलाई पनि घाँस, अन्न, जल, दिइँदैन । त्यसैले यदि तपाईंले उपवास गर्न नसक्ने भए दोस्रो ठाउँमा जानुहोस्, अर्को विकल्प छैन । तपाईं यहाँ रहेमा अवश्यमेव व्रत गर्नुपर्छ ।’ 
 
पत्नीको यस्तो कुरा सुनेपछि शोभनले भने– हे प्रिय ! तिम्रो राय उचित हो । तर, म व्रत गर्नबाट डराएर अर्को ठाउँमा जान्न । मैले पनि अवश्य यो व्रत गर्नेछु । भाग्यमा जे लेखेको छ त्यही भोग्नु पर्ला ।   
यसरी शोभनले अरुसरह रमा एकादशीको व्रत गरेका हुनाले उनी भोक–प्यासबाट व्याकुल हुन लागे । सूर्यास्तपश्चात् राति जागरणको समय आयो, त्यो रातभरि शोभन भोक–प्यासले छट्पटिए, ओठ–मुख सुक्यो । द्वादशीका दिन सूर्योदयपूर्व अत्यधिक भोक–प्यासका कारण शोभनको प्राण गयो । 
 
राजाले शोभनको मृत शरीरको जल–प्रवाह गराइदिए र आफ्नी छोरीलाई यो पनि आज्ञा दिए कि विष्णु भगवान्को कृपामाथि विश्वास गरेर सती जाने काम गर्नु हुन्न । चन्द्रभागाले पनि आफ्ना पिताको आज्ञानुसार सती जाने काम गरिनन्, त्यहीँ पिताका घरमा बसेर हरेक एकादशीको व्रत गर्न लागिन् ।          
 
उता महापुण्यदायिनी रमा एकादशीको व्रतका प्रभावले र विष्णु भगवान्को कृपाद्वारा शोभनलाई मन्दराचल पवतमा लगेर धनधान्यले परिपूर्ण भएको शत्रुरहित देवपुर नाम गरेको एक उत्तम नगर उपलब्ध गराइयो । उसलाई त्यहाँको राजा बनाइयो । त्यहाँको महलमा सुनका खम्बा जडिएका थिए । शोभन राजा भएपछि स्वर्ण तथा मणियुक्त सिंहासनमा सुन्दर वस्त्र र आभूषण धारण गरेर विराजमान भए । गन्धर्व र अप्सराहरु नाच–गान, नृत्य गरेर उनको स्तुति गर्न लागे । 
 
त्यस समय मानौँ राजा शोभन दोस्रो देवराज इन्द्रजस्ता प्रतीत हुन्थे । ठीक त्यसै समयमा मुचुकुन्द नगरमा रहने सोम शर्मा नाम गरेका एकजना व्राह्मण तीर्थयात्राका लागि निस्केका थिए । घुम्दै–फिर्दै यी व्राह्मण शोभनका राज्यमा पुगे र त्यहाँ शोभनलाई राजसिंहासनमा बसेको देखे । ती व्राह्मणले शोभनलाई राजा मुचुकुन्दका ज्वाईं ठानेर उनका नजिकै गए । राजा शोभनले ती व्राह्मणलाई देखेर स्वागत–अभिवादन गरी आफ्नो आसनबाट उठेर आफ्ना ससुरा र पत्नी चन्द्रभागाको अवस्था बारेमा सोधपुछ गर्न लागे । 
 
शोभनको कुरा सुनेर ती व्राह्मणले भने–  ‘हे महाराज ! मुचुकुन्द राजा र तपाईंकी पत्नी चन्द्रभागा कुशल छन् । अब तपाईंले आफ्नो वृतान्त मलाई बताउने कष्ट गर्नुहोस् । रमा एकादशीका दिन अन्न, जल, केही नखाएका कारण तपाईंको प्राण गएको थियो । मलाई अहिले यो आश्चर्य लागिरहेको छ कि तपाईंले यस्तो विचित्र तथा सुन्दर नगर कसरी पाउनु भयो ? कृपागरी यसबारे मलाई सबै कुरा बताइदिनुहोस् ।’ 
 
शोभनले भने– ‘हे व्राह्मणदेव ! यो सबै कार्तिक महिनाको कृष्ण पक्षको रमा एकादशीको  ब्रतको फल हो । त्यसै व्रतका प्रभावले मलाई यो अनुपम नगर प्राप्त भएको हो । तर। यो अस्थिर (अस्थायी) छ । शोभनको यस्तो कुरा सुनेपछि व्राह्मणले भने– हे राजन ! यो यसरी अस्थिर किन र केका कारणले भएको हो ? त्यो सबै मलाई भन्नुहोस् । यदि यसलाई स्थिर बनाउन मैले केही उपाय गर्नसक्ने भए पक्कै पनि गर्नेछु ।’ 
 
व्राह्मणको यस्तो कुरा सुनेपछि शोभनले अगाडि भने– ‘मैले त्यो व्रत स्वेच्छाले नभै विवश भएर श्रद्धारहित ढंगले गरेको थिएँ । त्यसैको कारणले गर्दाखेरी अहिले मलाई यस्तो अस्थिर नगर प्राप्त भएको हो । तपाईंले यदि यो कुरा राजा मुचुकुन्दकी छोरी चन्द्रभागालाई भनिदिने हो भने उनले यसलाई पक्कै पनि स्थिर (स्थायी) बनाउन सक्नेछिन् ।’
 
राजा शोभनको यस्तो कुरा सुनेपछि सोमशर्मा व्राह्मण त्यहाँबाट सीधै आफ्नो नगरतर्फ फर्केर आए र उनले चन्द्रभागालाई सबै बेलिविस्तार सुनाए । व्राह्मणको यस्तो कुरा सुनेपछि आश्चर्यचकित हुँदै राजकन्या चन्द्रभागाले भनिन्– ‘हे व्राह्मणदेव ! तपाईंले यो सबै आफ्ना आँखाले देखेर भन्दै हुनुहुन्छ कि सपनाको कुरा गर्दै रहनुभएको छ ?’ 
 
चन्द्रभागाको यस्तो कुरा सुनेपछि ब्राह्मणले भने– ‘हे राजकन्या ! मैले तिम्रा पति र उनी भएको नगर प्रत्यक्ष देखेको हुँ । किन्तु त्यो नगर अस्थिर छ । तिमीले अब कुनै त्यस्तो उपाय गर्नुप¥यो जसद्वारा त्यो नगर स्थिर हुन सकोस् ।’ 
 
व्राह्मणका यस्ता वचन सुनेर चन्द्रभागाले भन्न थालिन्– ‘हे व्राह्मणदेव ! विछोड भएकालाई पुनः भेट गराइदिँदा ठूलो धर्म हुन्छ भनेर हाम्रो धर्मशास्त्रमा बताइएको छ । तपाईंले मलाई अहिले नै त्यस नगरमा लिएर जानुहोस्, मैले आफ्ना पति परमेश्वरलाई देख्न–भेट्न चाहेकी छु । मैले आफ्नो व्रतका प्रभावले त्यस नगरलाई पक्कै पनि स्थिर बनाइदिने छु ।’ 
 
ती राजकन्याले यस्तो कुरा गरेपछि सोम शर्मा व्राह्मणले तिनलाई आफ्नो साथमा लिई मञ्दराचल पर्वतमा वामदेव ऋषिको आश्रममा पुगेर ऋषिलाई दुवैले प्रणाम गरे, अनि आफूहरु आउनुको तात्पर्य बताए । ऋषिले यो–यावत् कुरा सुनेपछि चन्द्रभागालाई वेदमन्त्रद्वारा अभिशेष गरिदिए । 
 
आफ्नो व्रत र ऋषिका मन्त्रको प्रभावले चन्द्रभागाले एक दिव्यदेह प्राप्त गरिन् अनि त्यसपछि पति भएका ठाउँमा गइन् । शोभनले आफ्नी पत्नी चन्द्रभागालाई देखेर अति खुशी हुँदै प्रेमपूर्वक आसनमा बसाले । आफ्ना पति परमेश्वरसँग भेट हुन पाएपछि असाध्यै हर्ष मानेर चन्द्रभागाले भनिन्– ‘हे स्वामी ! तपाईंले अब मैले गरेका पुण्यका बारेमा सुन्नुहोस् । म आफ्ना पिताका घरमा जब आठ वर्षकी भएथेँ । त्यति बेलादेखि नै प्रत्येक एकादशीको व्रत अखण्डरुपले गर्दै आएकी छु । मैले गरेको यो सबै पुण्य अब हजुरले ग्रहण गर्नुहोस् जसको प्रभावले तपाईंको यो नगर स्थिर हुनेछ ।’ 
 
चन्द्रभागाको मुखबाट यस्तो बोली छुट्दासाथ त्यस नगरको सबै अवस्था तत्काल स्थिर (स्थायी) हुनगयो । त्यसपछि सबै कर्मबाट परिपूर्ण भएर प्रलयको अन्त्य समयसम्म त्यो नगर स्थिर रहिरहने निश्चित भयो । तत्पश्चात् चन्द्रभागाले दिव्यस्वरुप धारण गरेर दिव्य वस्त्रहरु, अलङ्कारहरु आदिद्वारा सजिएर पटरानी भई आफ्ना पतिका साथ सुख–सयल र ऐश्वर्यपूर्वक रहँदिभइन् । मृत्युपश्चात् यी दुवै दम्पतीलाई वैकुण्ठलोक प्राप्त भएको कुरा व्रह्मवैव्रत पुराणमा उल्लेख छ ।
 
रमा एकादशी व्रतको पूजा विधि :          
 
–व्रतालुले दशमीका दिन सात्त्विक भोजन गरी सूर्यास्तपछि भोजन नगर्ने । भुईंमा सुत्ने ।
 
–एकादशीका बिहान व्रह्ममुहूर्तमा उठेर स्नानादि गरी शुद्ध र पवित्र भई दाहिने हातको अञ्जुलीमा पानी लिएर हे विष्णु भगवान् ! मैले रमा एकादशीको व्रत गर्दैछु । मलाई उक्त व्रत विधिपूर्वक सम्पन्न गर्ने प्रेरणा प्रभुबाट प्राप्त होस् भन्दै संकल्प गर्ने ।
 
–त्यसपछि पूजाकोठामा गएर या पूजामण्डप स्थापना गरी त्यहाँ लक्ष्मी–नारायणको प्रतिमा स्थापना गरेर त्यस प्रतिमालाई पहेँलो या रातो वस्त्रले आवरण गर्ने ।
 
–त्यसपछि चन्दन, अक्षता, फूलपाती, अर्घ, जल, तुलसीपत्र आदिले उक्त प्रतिमालाई पण्डितको निर्देशनअनुसार पूजा गर्ने, फलफूल, पञ्चामृ्रत, नैवेद्यादि अर्पण गर्ने । अन्य देवी–देवताहरुको पनि विधिपूर्वक पूजा–अर्चना गर्ने ।
 
–मध्यान्ह्मा सूर्य भगवान्लाई अर्घ चढाएर प्रणाम गर्ने, पितृहरुलाई तर्पण दिने ।
 
–दिनभरी निराहार बसी व्रतकथा र लक्ष्मी, नारायण सम्बन्धित भजन–कीर्तनहरु श्रवण गर्ने ।
 
–बेलुका सूर्यास्तपछि पुनः सबै देवी–देवताहरुको पूजन गरी धूप, दीप, आरती गर्ने । त्यसपछि पञ्चामृत, नैवेद्य, फलफूल, एवम् अन्य पाक्य बस्तुहरु प्रसादको रुपमा सबै बीच वितरण गर्ने र अन्त्यमा आफूले पनि खाने ।
 
–व्रतालु भोकै बस्न कसै नसक्ने भएमा मात्र दूध, फलफूल, फलाहार खाने । मासको दाल, मुसुरो, केराउ अन्नादि र नून पूर्णरुपले बर्जित ।
 
–राति लक्ष्मी–नारायणको भजन, कीर्तन गरी जाग्राम बस्ने ।
 
–भोलिपल्ट बिहान सबेरै उठेर स्नानादि गरेर शुद्ध भई हातमा फूल, अक्षता समातेर दुवै हात जोडी हे विष्णु भगवान् ! तिम्रो प्रेरणाले मैले रमा एकादशीको व्रतगरी त्यसको अहिले बिसर्जन (पारण) पनि गर्दैछु । व्रतका क्रममा मबाट कुनै त्रुटि हुनगएको भए क्षमा पाऊँ र प्रभुबाट मलाई अब वैभव र ऐश्वर्यको वर्षा गराइदिने कृपा होस् भन्दै भगवान्लाई प्रणाम गरेर उक्त व्रतको बिसर्जन गर्ने ।
 
–त्यसपछि व्राह्मण र दुःखी–गरिबहरुलाई उचित दक्षिणा, धन–पैसा दिएर भोजन गराउने । अन्न, सुन, लत्ताकपडा, छाता, जुत्ता, भूमि आदि दान गर्ने । अनि पण्डित, व्राह्मण र अन्य उपस्थित सबैलाई प्रसाद वितरण गर्ने, भोजन गराउने । अन्त्यमा आफूले भोजन गर्ने ।
 
–रमा एकादशी व्रतको पौराणिक कथाअनुसार जो मनुष्यले यस एकादशीको विधिपूर्वक व्रत,उपासन गर्दछ त्यस मनुष्यका सबै पापहरु नष्ट भएर मृत्युपश्चात् विष्णुलोक प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।
 
–विष्णु भगवान्का नाउँमा व्रत, उपासन गर्नु अझ त्यसैमा पनि हरिप्रिय एकादशीको व्रत, उपसना गर्नु अत्युत्तम मानिएको छ । 
 
एकादशी या अन्य केहीको व्रत जानेर गरियोस् या नजानेर तर सच्चा आत्माले शुद्ध र पवित्र मनले गरिएको छ भने भगवान् विष्णुबाट त्यस्ता व्रतालुप्रति पक्कै पनि अपार कृपाको वर्षा हुन्छ भनेर पुराणहरुमा बताइएको छ । व्रह्मवैव्रत पुराणमा रमा एकादशीका दिन गरिबलाई धन दिने, भोकालाई भोजन दिने, आचरणवान् व्राह्मणहरुलाई उचित दक्षिणा दिने र भोजन गराउने, वृद्ध–वृद्धाश्रममा र परोपकारी संघ–संस्थाहरुमा आर्थिक सहयोग दिने आदि गरेमा यस जुनीमा एक हजार गुणा बढी पुण्य प्राप्तगरी मरेपछि मोक्षको भागी बन्ने बताइएको छ । 
 
व्रत गर्ने व्यक्तिले व्रतको समयसम्म कोही–कसैलाई पनि चोट पुग्ने काम–कुरा नगर्ने, झुट्टा नबोल्ने, शान्त र स्वच्छ भावना बनाउने, थोरै बोल्ने, हरिनाम जप्ने, कसैसँग झैझगडा नगर्ने, असहाय र अनाथहरुलाई सहयोग गर्ने आदि जस्ता प्रावधानहरु हाम्रा धार्मिक ग्रन्थहरुमा प्रतिपादन गरिएको उल्लेख छ ।  (भर्जिनिया, अमेरिका)