गण्डकी । धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार संघ, कास्कीले बुधबकार सम्मान गरेको छ । संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् ।
कार्यक्रममा फोटो पत्रकार संघ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उँचो बनाएको बताए ।
आरोही श्रेष्ठले आर्थिक अभावबीच पनि आरोहण सफल भएको भन्दै खुसी व्यक्त गरिन् । दुई पटकको प्रयासमा धौलागिरि आरोहण गर्न सकेको बताउँदै उनले अब चाँडै नै कञ्चनजङ्घा आरोहण गर्ने योजना रहेको र त्यसपछि मकालु र ल्होत्से आरोहण गर्ने तयारी रहेको जानकारी दिइन् ।
आरोहणमा हेलीभन्दा पदयात्रामार्फत जाँदा स्थानीय ठाउँको प्रवर्द्धन हुने भएकाले प्रदेश सरकारले सो क्षेत्रमा पदयात्रामा बनाउन उनले सुझाव दिए ।
काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत उनले असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहण गरेकी थिइन् । उनको टिममा ४० जना थिए ।
गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि वैशाख ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेर कीर्तिमानी बनाएका थिए । पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । उनले यसअघि सगरमाथा, मनास्लु र आमादब्लम हिमालको आरोहण गरेकी छन् ।
कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष धर्म पन्थी, फोटो पत्रकार सङ्घ गण्डकी अध्यक्ष राम गुरुङ, फोटो पत्रकार सङ्घ कास्कीका सचिव दुर्गा पौडेल, सहसचिव उमेश पुन, फोटो पत्रकार कृष्णमणि बराल, धनश्याम पौडेल, राधिका कँडेललगायतले श्रेष्ठको आरोहणले फोटो पत्रकारको गरिमालाई थप उँचो बनाएको धारणा राखे । रासस







प्रतिक्रिया