मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमेरिका पठाउने प्रलोभनमा रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा

अमेरिका पठाउने प्रलोभनमा रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा


काठमाडौँ । केही गिरोहको मिलेमतोमा अमेरिका पठाउने बहानामा रोहिङ्गा शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएको छ ।
 
अनुसन्धानका क्रममा हाल काठमाडौँको कपनमा रहेको रोहिङ्गा शरणार्थी क्याम्पमा बस्ने नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलिसँग मिलोमतो गरी अन्य शरणार्थीलाई नेपाल भित्र्याइएको पाइएको छ ।
 
नेपालबाट अमेरिका जान परिचयपत्र पाइने, मासिक प्रतिव्यक्ति पुरुषलाई रु पाँच हजार ७५०, महिलालाई रु तीन हजार ७५० र बालबालिकालाई रु दुई हजार ७५० भत्ता सुविधा दिने तथा अन्य सुविधा पनि राम्रो रहेको भनी प्रलोभन दिएर नेपाल ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुले यसरी छ जना शरणार्थीलाई नेपाल ल्याएको पनि प्रहरीले जानकारी दिएको छ ।  
 
केही अघि व्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरी मानव वेचविखन अनुसन्धान व्यूरोमा बुझाएको थियो । व्यूरोले जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार अनुसन्धान थालेको आज एक सूचनामार्फत जनाएको छ ।  
 
व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीअनुसार उनीहरुले कति जना मानिसलाई त्यसरी ल्याएका हुन् भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । गिरोहले पीडितलाई शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) नजिक छाडेका थिए । त्यसपछि कार्यालयको सम्पर्कमा गई पीडितले शरणर्थीको परिचयपत्र बनाएका थिए । अनुसन्धानमा उनीहरुलाई अवैधरुपमा नेपालमा भित्र्याएको पाइएको छ । 
 
उनीहरुले शरणार्थीलाई भारतको बाटो प्रयोग गरी नेपाल ल्याइ मानव तस्करी गर्ने गरेको दाबी प्रहरीको छ । गिरोहले ढाकादेखि काठमाडौँसम्मको यात्राका लागि दुई लाख ५० हजार टाका (बङ्गलादेशी मुद्रा) लिइ प्रलोभनमा पारी नेपालसम्म ल्याई पु¥याएको जनाइएको छ । रासस

शेयर गर्नुहोस:

378
Shares