मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आजको वर्षा : विभिन्न जिल्लामा छ को मृत्यु, काठमाडौँका ३८५ घर डुबानमा

आजको वर्षा : विभिन्न जिल्लामा छ को मृत्यु, काठमाडौँका ३८५ घर डुबानमा


काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा आएको भारी वर्षापछिको बाढी, डुबान र पहिरामा परेर छ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार आज रोल्पामा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । 
 
रोल्पा नगरपालिका–१० स्थित पूर्णबहादुर थापाको घरमा पहिरो खस्दा सोही घरमा बस्ने गौरी थापा र अर्का पाँच वर्षका बच्चाको ज्यान गएको मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । अन्य दुईजना घाइते भएका छन् । 
 
यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको कर्रा खोलामा आएको बाढीले दुई दिनअघि बगाइएका दुई व्यक्तिको शव आज फेला परेको छ । मृत्यु हुनेमा ना३ख १४४० नंका ट्रक चालक बद्री कार्की र अर्का गणेश थापा रहेका छन् । उनीहरु ट्रकसँगै बगेका थिए । 
 
उता जाजरकोटको नलघाट नगरपालिका–५ मा पहिरासँगै आएको ढुङ्गा लागेर  १० वर्षका प्रचण्ड खड्काको मृत्यु भएको छ । अन्य गोरखबहादुर खड्का र सिला खड्का गम्भीर घाइते भएको जनाइएको छ । यस्तै प्यूठान नगरपालिकामा वर्षाका कारण कच्ची घर भत्किँदा देउकी विकको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
 
यता रातिदेखि परेको वर्षाका कारण बाढी आउँदा काठमाडौँका ३८५ घर/टहरा डुबानमा परेको छ । काठमाडौँमा डुबानमा परेका २३२ जनाको उद्धार भएको गृह मन्त्रालयले जनाएको छ । एउटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ ।
 
उता भक्तपुरबाट ५४  र ललितपुरको १५ जनाको उद्धार गरिएको र ती जिल्लाका खोलाका छेउछाउका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । मुलुकभर मनसुन सुरु भएयता जेठ ३० पछि अहिलेसम्म बाढी÷पहिरो र डुबानमा परेर १२९ जनाको मृत्यु भएको छ । अन्य ४४ जना हराइरहेका छन् । रासस

शेयर गर्नुहोस:

108
Shares