काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनले बिहीबारै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।
यसअघि आचार्य बिहीबार नै नेकपा (एमाले) प्रदेश नं १ को संसदीय दलको नेतामा चयन भएका थिए ।
को हुन् मुख्यमन्त्री बनेका आचार्य
सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको हो ।
नेकपा (एमाले) का सचिवसमेत रहेका आचार्य सुनसरी–१ (ख) बाट विसं २०७४ को निर्वाचनमा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि उनी संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी भएका थिए ।
विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मिएका आचार्य लामो समयदेखि सुनसरीको इनरुवामा स्थायी बसोवास गर्दै आएका छन् । सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा सुरु गरेका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय छन् । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका थिए ।
विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उनी शेरधन राईसँग दुई मतले पराजय भएका थिए । नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा सक्रिय थिए ।
प्रतिक्रिया