मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपहरणमा परेका दुई युवकलाई भारतबाट उद्धार

अपहरणमा परेका दुई युवकलाई भारतबाट उद्धार


काठमाडौँ । अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ ।     
 
उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर रहेका छन् । दुवै जनालाई सकुशल उद्धार गरी आइतबार  परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । 
 
प्रहरीका अनुसार, उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए । अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा शनिबार राति भारतको बिहार राज्यको मोतिहारीबाट अपहरण मुक्त गराएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले अपहरणमा संलग्न दुई जनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको बताइएको छ ।
 
प्रहरी नायब उपरीक्षक रिमालले भने, “अपहरण मुक्त भएका दुवै युवक लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । अपहरण गर्नेहरु पनि चिनजानेकै हुन् । अपहरण भएको दिन उनीहरु सँगै बसेर कुराकानी भएको देखिएको छ ।”     
 
उनका अनुसार अपहरणकारीले उनीहरुसँग प्रतिव्यक्ति रु पाँच लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए । फिरौती नपाए मिर्गौला बेचिदिने भन्दै यातनासमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ । भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरुको उद्धार गरिएको उनको भनाइ छ ।
 
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
 

शेयर गर्नुहोस:

270
Shares