काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सधैँ तत्पर रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने बताएका छन् ।
पार्टीको आफू निकट जनसङ्गठनका पदाधिकारीलाई बुधबार भर्चुअल सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव हुने अन्यथा नयाँ पार्टीमार्फत वामपन्थी आन्दोलनको झण्डालाई फहराइने स्पष्ट गरे ।
उनले सही कार्यदिशामा आउन तयार भएमा अहिले एकता सम्भव नभए निर्वाचनमा तालमेल वा निर्वाचनपछि पनि सहकार्य र एकताको सम्भावना सधैँ रहने बताएका छन् । उनले आफ्ना कार्यकर्तालाई एमालेको सदस्यता नवीकरण र समानान्तर गतिविधिमा सक्रिय हुन पनि आग्रह गरे ।
बुधबार आफूले उपमहासचिव घनश्याम भुसालको प्रस्तावमा एकताका लागि विकल्पबारे छलफल गर्न अध्यक्ष ओली पक्षसँग पठाएको जानकारी दिँदै त्यसको प्रगति भइनसकेको बताए । उनले पार्टीले आफूसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न संघीय संसद् सचिवालयमा सिफारिस गरेको सुनिएकोमा विरोध गरे । रासस
प्रतिक्रिया