काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरियन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाउँदै सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सङ्कलन गरेको ४७ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको नयाँ दिल्लीस्थित प्रयोगशालामा परीक्षण गर्दा तीनमा डेल्टा भेरियन्ट पुष्टि भएको थियो ।
साथै, अल्फा भेरियन्ट, डेल्टा भेरियन्ट र कप्पा भेरियन्टका उत्परिवर्तन फेला परेको जानकारी दिँदै मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सम्भावित तेस्रो लहरको तयारीमा जुट्न स्वास्थ्य सेवा प्रदायक निकाय र स्वास्थ्यकर्मीहरूमा अनुरोध गरेको छ ।
स्वास्थ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव
कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उनीहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड लागू नहुँदा सङ्क्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने बताएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा सागरराज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेलचक्य्राइँ गरिएकाले सङ्क्रमण तेस्रो लहर एक महिनाभित्र आउनसक्ने बताए ।
“निषेधाज्ञासँगै जनस्वास्थ्यका मापदण्ड लागू गरिएको पाइएको छैन । जसले गर्दा सङ्क्रमण दिनानुदिन बढ्दो छ”, उनले भने, “यसैगरी सङ्क्रमण नियन्त्रण गर्न हेलचक्य्राइँ गर्ने हो भने तेस्रो लहर एक महिनाभित्र आउँछ ।”
नेपालमा पछिल्लो दिन सङ्क्रमण दर बढ्दो छ । सोमबार मात्र आइतबारभन्दा एक हजार १८४ मा सङ्क्रमण बढी देखिएको थियो । सोमबार नेपालमा तीन हजार ४२१ र आइतबार दुई हजार २३७ सङ्क्रमित देखिएका थिए ।
जनस्वास्थ्यविद् डा राजभण्डारीले कोरोना भाइरस अझ केही वर्ष रहन भएकाले मानिसले आफ्नो व्यवहार परिवर्तन गरी कोरोनासँग लड्दै जिउनुपर्ने बताए ।
यस्तै जनस्वास्थ्यविद् डा वासुदेव पाण्डेले भारतको खुला सीमाका कारणले सङ्क्रमण नेपाल फेरि बढिरहेको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड लागू गरेर मात्र सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने धारणा राखे । उनले भाइरस अझ केही वर्ष रहने भएकाले सोहीअनुसारको मानिसको जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए ।
अर्का जनस्वास्थ्यविद् डा सुन्तरमणि दीक्षितले तेस्रो लहरको जोखिम भएकाले सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने बताए । उनले खोप जतिसक्दो चाँडो लक्षित नागरिकलाई खोप लगाएर बचाउनुपर्ने बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असोज तेस्रो सातादेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारीरूपमा लागू नगरिएकाले असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरिएको हो । तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने भएकाले मन्त्रालयले सचेत रहन निर्देशनसमेत दिइसकेको छ । रासस







प्रतिक्रिया