काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, विशेषज्ञ डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, खोप तथा बालस्वास्थ्य महाशाखाका प्रमुख डा. तारा पोखरेललगायत पदाधिकारीलाई आइतबार कोभिड–१९ को परीक्षण, उपचार, अक्सिजन तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिए ।
कोभिड महामारीको तेस्रो लहरको तयारी, महामारी व्यवस्थापन, खोप अभियानलाई चुस्त, प्रभावकारी, झन्झटमुक्त, भीडभागरहित ढङ्गले खोप लगाउन उनले निर्देशन दिए । खोप लगाउन लामो समयसम्म लामबद्ध भएर बस्नुपर्ने अवस्थाको अन्त्य, जनशक्ति तथा खोप केन्द्र थप गर्ने र महामारी नियन्त्रणमा दत्तचित्त भएर लाग्न प्रधानमन्त्री देउवाले निर्देशन दिए ।
कोभिड–१९ महामारीको पछिल्लो स्थिति सम्भावित तेस्रो लहरविरुद्धको पूर्वतयारी, जारी खोप अभियान, चुनौती तथा आगामी योजनाबारे पनि उनले जानकारी दिए ।
प्रधानमन्त्री देउवाको निर्देशनअनुसार खोप कार्यक्रमलाई अझ व्यवस्थित तुल्याउन आइतबारै सचिव अर्यालले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालयका प्रमुखसँग सामूहिक छलफल गरी जनशक्ति एवम् खोप केन्द्र बढाउन निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रासस







प्रतिक्रिया