काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।
सर्वाेच्च अदालत, संवैधानिक इजलासको सोमबारको फैसलाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता देउवालाई आज सो नियुक्ति दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले आज नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।
सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्रीको शपथ
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुई/दुई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ रहेका छन् । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी छन् । रासस












प्रतिक्रिया