काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट तोकिएका एमीकस क्युरीले राय दिने क्रम सकिएर सर्वोच्च बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरेले राय दिन सुरु गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा एमीकस क्युरीका रुपमा राय दिने क्रममा उनले विश्वासको मत नपाएपछि प्रधानमन्त्री एक मिनेट पनि बस्न नहुने राय दिएका छन् ।
“निर्दलीय व्यवस्था हुँदैमा बहुदलीय व्यवस्थाको सिद्धान्त खल्बलिदैन”, वरिष्ठ अधिवक्ता घिमिरेले भने, “प्रधानमन्त्रीलाई जनताले विश्वास नगरेको खण्डमा एक मिनेट पनि बस्नुहुँदैन, विश्वासको मत प्राप्त नगरेको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन ।”
प्रधानमन्त्रीका लागि मेरो विकल्प म नै हुँ भन्ने खालको कुरा छाड्नुपर्ने राय दिँदै वरिष्ठ अधिवक्ता घिमिरले भने, “मेरो विकल्प मै हुँ भन्न प्रधानमन्त्रीले पाउनुहुन्न, संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्ति स्वतन्त्र सांसदले विश्वासको मत दिने हो ।”
संविधानको धारा ७६ (५) अनुसार सांसद् स्वतन्त्र हुने र आफूले चाहेको प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने राय उनको थियो । सर्वोच्च अदालत बारकै तर्फबाट अर्को एमीकस क्युरीका रुपमा वरिष्ठ अधिवक्ता प्रकाशबहादुर केसीले राय दिन सुरु गरेका छन् । एमीकस क्युरीका तर्फबाट राय दिने उनी अन्तिम हुन् । रासस
प्रतिक्रिया