सिद्धार्थनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी बौद्ध दर्शनका लागि विश्वग्रामको रुपमा स्थापित भइरहेको बताएका छन् ।
वैशाख पूर्णिमा तथा २५६५ औँ बुद्धजयन्तीका अवसरमा बुधबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजापाठ पश्चात् मुख्यमन्त्री पोखरेलले बुद्धदर्शन, सस्कृति र जीवनपद्धतीको रुपमा विकास भइरहेको पनि बताएका हुन् । उनले भने, ‘‘बुद्धिज्म् ज्ञानका दृष्टिकोणले दर्शनको रुपमा संस्कृतिको रुपमा र जीवन पद्धतिका रुपमा पनि स्थापित हुँदैछ ।”
मुख्यमन्त्री पोखरेलले लुम्बिनीलाई सङ्घीय र प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राखेकोसमेत बताउँदै भने, ‘‘लुम्बिनी नेपाल सरकारको उच्च प्राथमिकतामा छ । यहाँको गुरुयोजना अनुसारका काम सम्पन्न गर्न आवश्यक बजेटको समेत व्यवस्थापन भइसकेको छ ।”
मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीकै सोचमा लुम्बिनीमा पाँच हजार मानिसहरु एकैपटक अट्ने सभाहल तथा ध्यान केन्द्र निर्माण भइरहेकोसमेत बताए । उनले भने, ‘‘प्राध्यापक केन्जो टांगेको गुरुयोजना अनुसारको काम सम्पन्न गर्न बहुवर्षीय स्रोत सुनिश्चता भएको छ । यो ठाउँको पवित्रताका लागि अझै व्यापकताका साथ व्यवस्थित रुपमा काम गर्दै बृहत्तर लुम्बिनी विकासको काम योजनाबद्ध अगाडी बढाउनेछौँ ।”
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले बुद्धले रुखको तल जन्म लिएको रुखको तल बोधी ज्ञान लिएको र रुखकै तल महापरिनिर्वाण भएको दुर्लभ दिन राज्यले सम्झेर जसरी वैशाख पूर्णिमा मनाइरहेको छ, त्यो नै महत्त्वपूर्ण भएको बताए ।
कोभिडका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै मन्दिरको परिसरमा लुम्बिनीका बिहार र गुम्बाका गुरुहरुको मन्त्रोच्चारणसहित सम्पन्न कार्यक्रममा लुम्बिनी विकास कोषका तर्फबाट भिक्षुलाई संघदान गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओली र कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले दिवसका अवसरमा दिएको सन्देश सदस्यसचिव सानुराजा शाक्यले सुनाए । उक्त कार्यक्रमपश्चात गौतमबुद्ध फलफूल बाटिकामा विभिन्न प्रजातिका फलफूलका बिरुवासमेत रोपिएको थियो । रासस








प्रतिक्रिया