मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वरिष्ठ पत्रकार दिलीप घिमिरेको निधन

वरिष्ठ पत्रकार दिलीप घिमिरेको निधन


भक्तपुर । वरिष्ठ पत्रकार दिलीप घिमिरेको क्यान्सरका कारण निधन भएको छ । महोत्तरीको भङ्गाहा नगरपालिका–६ हतिसर्वाका बासिन्दा ६३ वर्षीय घिमिरेको आज बुधबार भक्तपुरमा निधन भएको हो । घिमिरे लामो समयदेखि क्यान्सरबाट ग्रसित थिए । 
 
विद्यार्थीकालदेखि नै पञ्चायतविरोधी आन्दोलनमा होमिएका घिमिरेले २०३५ देख नै पत्रकारिता सुरु गरेको उनका भाइ पत्रकार अनिल घिमिरे सम्झन्छन् । काठमाडौंबाट प्रकाशित हुने ‘मातृभूमि’ र ‘समीक्षा’ साप्ताहिकबाट पत्रकारिता सुरु गरेका घिमिरेले २०३८ सालबाट आफ्नै प्रकाशन÷/सम्पादनमा ‘हिमज्योति’ साप्ताहिक प्रकाशन सुरु गरेका थिए । 
 
पञ्चायतकालमा विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपासँग नजिकिएर प्रजातान्त्रिक आन्दोलनमा लागेका घिमिरेलाई समाचार लेखेकै कारण पञ्चायती सरकारले पक्राउ गरी थुनामा राखेको थियो । त्यसबेला घिमिरेविरुद्ध राजकाज अपराध मुद्दा चलाइएको महोत्तरीका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानि कुँवरकान्त झा बताउँछन् । 
 
विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा पनि थुनामा परेका घिमिरेलाई आन्दोलनको सफलतापश्चात प्रजातान्त्रिक आन्दोलनमा उनको योगदानलाई कदर गर्दै २०४७ सालमा तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सम्मानित गरेका थिए । निरन्तर ३० वर्षभन्दा बढी सक्रिय पत्रकारिता गरेकामा नेपाल पत्रकार महासङ्घ,  धनुषा शाखाले पनि घिमिरेलाई सम्मान गरिसकेको छ ।
 
घिमिरेको निधनमा नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल, बर्दिबास नगर पत्रकार सञ्जाल, महोत्तरीका अध्यक्ष विक्रमप्रसाद रौनियार र प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस मञ्च नेपाल महोत्तरी शाखाले विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । घिमिरेका पत्नी र दुई छोरी छन् । रासस
 

शेयर गर्नुहोस:

0
Shares