ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनको प्रचार प्रसारको लागि अध्यक्ष पदका उम्मेदवार बुद्धिसागर सुवेदी समुहले शनिबार ड्यालसमा अन्तरकृया आयोजना गरेको छ ।अर्भिङस्थित करि लिफ रेस्टुरेन्टमा आयोजना गरिएको उम्मेदवार परिचय तथा अन्तरकृया कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार सुवेदीले आफु एनआरएनमा लिनका लागि नभै आफ्नो शीप, बुद्धि दिनका लागि जान लागेको उल्लेख गरे ।
‘मातृभूमि जाँदा टुरिष्ट भिसा लिनुपर्ने दुःखदायी अवस्थालाई अन्त्य गर्न बेलायत, क्यानडा र अष्ट्रेलिया लगायत देशका एनआरएनएका राष्ट्रिय समितिसँग मिलेर अघि बढ्नेछु’ सुवेदीले भने । त्यसका लागि आफु एक महिना मातृभूमि नेपाल गएर लबिङ गर्न पनि तयार रहेको बताए ।
सुवेदीले आफु संस्थामा विजयी भएपनि वा पराजित भएपनि हानी गर्ने काम कुनै हालतमा नगर्ने र टेनिसी कोर्टमा नजाने घोषणा गरेका थिए ।
सोही कार्यक्रममा एनआरएनका उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक राम सी पोखरेलले शूभकामना व्यक्त गर्दै एकजुट भएर गैर आवासीयहरु अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उपाध्यक्षका उम्मेदवार तथा नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष सुमन थापाले आफुले सिकेका शीपलाई टेक्ससमा मात्र नभएर अमेरिकाभरि सेवा गर्ने चाहनाले उम्मेदवारी दिएको बताए ।
कार्यक्रममा सुवेदी टिमका उम्मेदवारहरुले आफ्नो परिचय सहित एजेण्डा प्रस्तुत गरेका थिए । सो अवसरमा क्षेत्रीय महिला उपसंयोजक (अमेरिका क्षेत्र) उमा कार्की, एएनएका अध्यक्ष विजयराज भट्टराई, जनसम्पर्क समितिका भरत अर्याल, रोशन ढुङ्गाना, भक्त भण्डारी लगायतले सुवेदी टिमको सफलताको लागि शूभकामना व्यक्त गरेका थिए ।
सुवेदी टिमले आइतबार ह्युस्टनमा परिचयात्मक कार्यक्रम राख्ने भएको छ । शुक्रबार अस्टिन र वेकोमा कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया