ग्लोबल नेपाली

एनआरएनए अस्ट्रेलियाको ४५ लाख सहयोग

एनआरएनए अस्ट्रेलियाको ४५ लाख सहयोग


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

सिड्नी । अस्ट्रेलियामा रहेका नेपालीले देशमा हालैको बाढी, पहिरोपीडितलाई राहतका निम्ति सहयोग जुटाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले ४१ हजार ९३ अस्ट्रेलियन डलर अर्थात् करिब ४५ लाख १२ हजार ७३९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।

विभिन्न नेपाली समुदाय तथा संघसंस्थासँगको सहकार्यमा सञ्चालन गरिएको आपत्कालीन गोफन्डमी अभियानमार्फत उक्त रकम संकलन भएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।

Advertisement

यसमा अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपालीसँगै नेपालका शुभेच्छुक, व्यवसायी, सामाजिक संस्था र अरू व्यक्तिहरूले पनि सहयोग गरेका छन् ।

संघका अनुसार, ३४८ दान प्राप्त भएका थिए । सानोठूलो रकमको परवाह नगरी गरिएको सामूहिक सहयोगले विपद्को समयमा विदेशमा रहेका नेपालीको मातृभूमिप्रतिको सम्बन्ध र सामाजिक उत्तरदायित्वलाई पुनः उजागर गरेको संघले जनाएको छ ।

हालैको बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा जनधन तथा घर, सडक र अरू भौतिक संरचनामा क्षति पुगेको भन्दै एनआरएनए अस्ट्रेलियाले राहत र पुनर्स्थापनाका निम्ति सहयोग अभियान अघि बढाएको थियो ।

संकलित रकम अगस्ट २८ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अनलाइनमार्फत हस्तान्तरण गरिएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ । अभियानबाट थप रकम प्राप्त भएमा त्यसलाई पनि उद्धार कोषमै पठाइने संघका कोषाध्यक्ष नीजन चौलागाईंले बताए ।