अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी भीषण बाढीका कारण प्रभावित परिवारहरूको सहयोगार्थ एक करोड ५ लाख ३३ हजार ९४४ रुपैयाँ राहत रकम सङ्कलन गरेको छ ।
समितिका सभापति मुनिन्द्र नेम्बाङले सामाजिक सञ्जालमार्फत् राहत रकमसम्बन्धी जानकारी दिँदै नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशानुसार सञ्चालन गरिएको उक्त अभियानमा विभिन्न राज्यका च्याप्टर समितिहरू सक्रियरूपमा परिचालित भएको कुरा बताएका छन् । उक्त च्याप्टर समितिमार्फत् अमेरिकाभरका आफ्नो संस्थामा आबद्ध सदस्यहरू, शुभेच्छुक तथा कांग्रेसजनबाट मात्र स्वेच्छिकरूपमा आर्थिक सहयोग सङ्कलन गरेको कुरा पनि नेम्बाङले सञ्जालमार्फत् जनाएको छ ।
भर्खर मात्रै नेतृत्व सम्हालेका सभापति नेम्बाङले अभियानलाई व्यवस्थितरूपमा सञ्चालन गर्न संस्थाका वरिष्ठ उपसभापति विनोद भट्टको संयोजकत्वमा महामन्त्री नारायण खनाल, कोषाध्यक्ष नारायण पोख्रेल, युवा मामिला उपसभापति महेन्द्र बस्नेत र सदस्य हरि खनाल सदस्य रहेको समिति आकस्मिक बैठकबाट गठन गरी अभियानलाई प्रारम्भ गरेका थिए ।
त्यसैले यस राष्ट्रिय विपत्तिको कठिन घडीमा अभियान सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण च्याप्टर समिति, पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सहयोगी दाताहरूप्रति सभापति नेम्बाङले हार्दिक आभार एवम् धन्यवाद व्यक्त गरेको छ ।
सभापति नेम्बाङले यस्तो दुःखको घडीमा नेपाली समुदायले देखाएको मानवीय संवेदना, सद्भाव, सहयोग र एकता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अभियानलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन् ।
यसरी छोटो समयमा सङ्कलन गरेको राहत रकम एकमुष्ट रूपमा ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’मार्फत् नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पुग्ने गरी जम्मा गरिएको कुरा पनि नेम्बाङले आफ्नो सामाजिक सञ्जालबाट सबैलाई जानकारी दिएका छन् ।















प्रतिक्रिया