अमेरिका । गैरआवासीय नेपाली संघको अधिवेशन तथा साधारण सभा अनलाइनमार्फत् गर्ने हो भने परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने भएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले एनआरएनको नाममा जारी गरेको पत्रमा सो उल्लेख गरिएको छ ।
एनआरएनको विधान २००३ को संशोधन २०२१ को प्रमाणीकरणको बारेमा जानकारी गराउँदै मन्त्रालयले गैरआवासीय नेपाली संघले गर्ने महाधिवेशन तथा साधारण सभा अनलाइनमार्फत गर्ने हो भने मन्त्रालयलाई पूर्वजानकारी गराउनुपर्ने र त्यसको मन्त्रालयले अनुगमन गर्ने उल्लेख गरेको छ ।
गैरआवासीय नेपाली संघको विधान संशोधन प्रस्तावलाई मन्त्रिस्तरीय निर्णयबाट प्रमाणीकरण गर्दै एनआरएनको संशोधन विधान नेपालको प्रचलित कानुनसँग बाझिएमा नेपालको कानुनअनुसार हुने व्यवस्था हुने उल्लेख गरिएको छ ।
एआरएनको विधानको दफा ३५ मा पहिलेदेखि नै यो व्यवस्था लागू भइआएको थियो । मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीद्वारा हष्ताक्षरित पत्रमा गणपुरक संख्यासम्बन्धी व्यवस्था पुरानै कायम गरिएको छ ।
गैरआववासीय नेपाली संघले आफ्नो विधान संशोधनसम्बन्धी प्रावधानको बारेमा मन्त्रालयलाई २०७७ साल माघमा पत्राचार गरेको थियो । मन्त्रालयले सोही पत्रका आधारमा एनआरएनको विधान संशोधन स्वीकृत गरेको हो ।
एनआरएनले आफ्ना गतिविधिका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने नियम छ ।
प्रतिक्रिया