काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टी सदस्यताबाट छ महिनाका लागि निलम्बन गरेका छन् ।
अध्यक्ष ओलीले उनीहरु दुवै जनालाई सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि निलम्बन गरेका हुन् । दुवै जनालाई निलम्बन गरिएको पत्र पठाइएको छ ।
“पार्टीले सोधेको स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटि स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएकाले पार्टी विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (ख) बमोजिम छ महिनाका लागि दसौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी (प्रतिनिधिसभा सदस्य) बाहेक पार्टी सदस्यताबाट निलम्बन गरिएको छ”, पत्रमा भनिएको छ ।
अध्यक्ष ओलीले दुवै जनालाई सच्चिनका लागि अन्तिम मौकासमेत दिएको पत्रमा उल्लेख गरिएको छ । पार्टीले सोधेको स्पष्टीकरण यही चैत १७ गते दुवै नेताले बुझाएका थिए । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीमबहादुर रावललाई पनि सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि छ महिनाका लागि पार्टीको सदस्यताबाट निलम्बन गरिएको थियो ।
यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै पार्टीका नेता नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उनीहरु चारै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए । रासस
प्रतिक्रिया