मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टीलाई सुदृढ र बलियो बनाउनुपर्नेमा नेता नेपालको जोड

पार्टीलाई सुदृढ र बलियो बनाउनुपर्नेमा नेता नेपालको जोड


काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टीलाई सुदृढ र बलियो बनाउने बताएका छन् । बुधबारदेखि सुरु भएको एमालेका नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी सङ्कटमा पुगेकाले बचाउनुपर्ने बताए । 
 
उनले पार्टीभित्र देखिएको समस्यालाई पार्टीमै छलफल हुनुपर्ने भन्दै पार्टी एकताका लागि मिलेर अगाडि बढ्न आफूले चाहेकोसमेत स्पष्ट पारे । उनले नेपालको राजनीतिकमा कम्युनिस्ट आन्दोलनको हैसियतलाई जोगाउँदै एमालेलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 
 
नेता नेपालले पूर्वएमालेलाई बलियो र सुदृढ बनाउनका लागि पार्टीको नवौँ महाधिवेशनबाट तय गरेको विचारलाई अगाडि बढाउनुपर्ने बताए । उनले राजनीतिक क्रान्ति सम्पन्न गरेकाले अब आर्थिक र सामाजिक क्रान्ति पूरा गर्ने कार्यभारमा पार्टी लाग्नुपर्ने आवश्यक रहेको धारणा राखे । नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुको सहभागिताबिना गरिएको फागनु २८ गतेको केन्द्रीय कमिटीको निर्णय सच्चाउनसमेत माग गरे । 
 
“पार्टी अध्यक्षज्यूले आजको भेला स्थगित गर्न भन्नुभयो, हामीले तपाईंले फागुन २८ गते बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयबाट पछि हट्नुहुन्छ भने हामी भेला स्थगित गर्न तयार छौँ भनेर भन्यौँ”, उनले भने, “तर उहाँले मान्नुभएन, अनि हामीले पनि भेला आयोजना गरेका हौँ ।” उनले पार्टी विधि, विधान र पद्धतिमा चल्नुपर्ने भन्दै कार्यकर्तालाई भेदभाव गर्न नहुनेसमेत स्पष्ट पारे । 
 
नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई जोगाउनका लागि कार्यकर्तालाई उत्साह र ऊर्जा दिन भेला आयोजना गरिएको बताए । पछिल्लो समयमा सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) सँगको एकतालाई मान्यता नदिएपछि पार्टी जुन ढङ्गले चल्नुपर्ने त्यो नचलेको उनको भनाइ थियो । 
 
उनले अहिले पार्टीभित्र देखिएको विवाद पदको लडाइँ नभई सिद्धान्त, विधि र पार्टी निर्माणसँग जोडिएको धारणा राखे । उनले माओवादी केन्द्रसँगको एकता हुनुपूर्वको अवस्थामा पार्टीको सङ्गठनात्मक संरचना, वैचारिक मान्यता, नेतृत्व र सबै सदस्य यथावत रहनुपर्ने बताए । “अबदेखि पार्टीलाई विधि, पद्धति तथा क्षमताका आधारमा परिचालन गरिने छ र पार्टीका बैठक कसैका घरमा नबसी पार्टी मुख्यालयमा बस्नुपर्दछ”, उनले भने, “त्यसो गरेमा सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर लैजान सकिन्छ ।” 
 
भेलामा अर्का नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै फागुन २८ गते गरिएको निर्णय खारेज हुनुपर्नेमा माग राखे । उनले कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि पार्टी एकताबद्ध हुुनुको विकल्प नभएकोसमेत स्पष्ट पारे । उनले पार्टीलाई एकताबद्ध बनाउनका लागि २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्नेमा जोड दिनभयो । भेलामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकताको प्रस्थानबिन्दु २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका संरचनालाई फर्काउनु रहेको बताए । 
 
उनले यही चैत ७ गते हुने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुनेसमेत स्पष्ट पारे । उनले कर्णाली प्रदेशमा सरकारको समर्थन आफूहरुको रहेको जानकारी दिए । भेला बिहीबारसम्म चल्ने बताइएको छ । पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी एकिकृत धारणा तय गर्न र त्यसअनुरुप पार्टी पङ्क्तिलाई देशव्यापीरुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन भेला आयोजना गरिएको नेता विष्णु रिजालले जानकारी दिए । 
 
१० समूह विभाजन
 
उनका अनुसार भेलामा सातवटै प्रदेश, जनसम्पर्क कमिटी, जनसङ्गठन तथा पेशागत सङ्गठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूह विभाजन गरी छलफल गरिएको छ । ती समूहबाट आएका सुझावलाई आधारमानी अवधारणापत्र सार्वजनिक गरिने छ । 
 
सहभागीको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नं १ मा भीमप्रसाद आचार्य, प्रदेश नं २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावल, सम्पर्क कमिटीमा वेदुराम भुसाल, जनसङ्गठन तथा पेशागतमा रघुजी पन्त र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी दिइएको छ । रासस
 

शेयर गर्नुहोस:

81
Shares