बिश्व घटना

दक्षिण कोरिया आइपुगे अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री

दक्षिण कोरिया आइपुगे अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री


सियोल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल आइपुगेका छन् ।  
 
चीन मामिला र उत्तर कोरिया मुख्य मुद्दा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको छ । उनीहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग छलफल गर्नेछन् ।  
 
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उदियमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरुसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेको छ । उनीहरुले यसअघि जापानको भ्रमण गरेका थिए । यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो ।
 
टोकियोबाट सियोल प्रस्थान गर्नुअघि अमेरिकी विदेशमन्त्री ब्लिन्केनले देशभित्र बढी दमन र विदेशमा तिब्रताका साथ विस्तार हुने चाहना चीनले राखेको आरोप लगाए । उनले पूर्व तथा दक्षिण चीन सागरदेखि ताइवानमाथि चीनले जबर्जस्ती गर्न खोजिरहेको बताए । 
 
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नुपरेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गरेका छन् । 
 
अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उनीहरुले उत्तर कोरियालाई पूर्णआणविक निरस्त्रीकरणका लागि आग्रह गर्नु भएको छ । उनीहरुले उत्तर कोरियाली आणविक हातहतियार अन्तरराष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताएका छन् । 
 
विदेशमन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गर्न चाहेनन् । उनले भने, “हामी उत्तर कोरियामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने विभिन्न पक्षमाथि विचार विमर्श गरिरहेका छौँ ।” एएफपी
 

शेयर गर्नुहोस:

2.5k
Shares