मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अग्रज पत्रकार शर्माको ६३ वर्षको उमेरमा निधन

अग्रज पत्रकार शर्माको ६३ वर्षको उमेरमा निधन


काठमाडौँ । अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा शुक्रबार निधन भएको छ ।   
 
शर्माले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएका थिए । रोग पूर्णरुपमा निको नभई समस्या भोगिरहेका उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ  । तीनदिनदेखि उनी सोही अस्पतालमा उपचाररत थिए ।  
 
राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोटलाइट र बिबिसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गरेका वरिष्ठ पत्रकार शर्माले नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्‍याएका थिए । 
 
आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनती र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहेका उनमा मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिग स्वभाव रहेको उनका समकक्षी वरिष्ठ पत्रकार तीर्थ कोइरालाले स्मरण गरे ।   
 
उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । स्व शर्माका श्रीमती र एक छोरा छन् । 
 
शर्माको निधनप्रति दुःख व्यक्त
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ पत्रकार सुशील शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । पत्रकार शर्माको काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको हो । स्व शर्माले लामो समयसम्म बीबीसी नेपाली सेवामा काम गरेका थिए । 
 
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै शर्माले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताएका छन् । 
 
उनको निधनबाट पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै सभापति देउवाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । 
 
यसैबीच, स्वं शर्माको निधनको खबरले आफू स्तव्ध भएको भन्दै नेपाल अमेरिका पत्रकार समाज (नेजा) का कार्यबाहक अध्यक्ष विकासराज न्यौपानेले गहिरो शोक प्रकट गरेका छन् । 
 
निर्भिक एवं पत्रकारिताको मूल्य र मान्यताप्रति अडिग अग्रज पत्रकार शर्माको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।   

शेयर गर्नुहोस:

6.5k
Shares