मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसलाई पदको लोभ छैन, जिम्मेवारी आएमा भाग्दैन : सभापति देउवा

कांग्रेसलाई पदको लोभ छैन, जिम्मेवारी आएमा भाग्दैन : सभापति देउवा


चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारीबाट कांग्रेस नभाग्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको १० औँ दिनको पूण्यतिथिमा बुधबार आयोजित शोकसभामा उनले प्रधानमन्त्री बन्नुपर्ने अवस्था आए कांग्रेस नभाग्ने बताएका हुन् । 
 
सभापति देउवा बोल्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताएपछि पौडेलको जवाफमा सभापति देउवाले काँधमा जिम्मेवारी आए नभाग्ने बताएका हुन् । उनले भने, “कांग्रेसले पदको लोभ पनि गरेको छैन । टाउकामा आयो भने भाग्ने पनि छैन । प्रधानमन्त्री पाउँ पनि भनेको छैन । आयो भने भाग्नेवाला पनि छैन ।”
 
आफू प्रधानमन्त्री भएमा पार्टीलाई फाइदै हुने भन्दै सभापति देउवाले भने, “चिन्ता नलिनुस् रामचन्द्रजी म पार्टीकै मान्छे प्रधानमन्त्री भयो भने अरुको भन्दा आफ्नै पार्टीकालाई फाइदा होला ।” उनले थपे, “तपाई शेरबहादुरजी हुनै हुँदैन भन्ने चाहनुहुन्न जस्तो लाग्छ । मलाई तपाईंको भनाइबाट त्यही बुझियो ।” 
 
पौडेललाई सानो चित्त नगर्न र विशाल हृदय राख्न आग्रह गर्दै उनले अबको राजनीतिमा जे आउँछ, त्यो बेहोर्दै जानुपर्छ भने । उनले रानाभाटको राजनीतिक संघर्षको चर्चा गर्दै एक पटक मन्त्री बनाउने आफ्नो चाहाना पूरा नभएको बताए । 
 
सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भन्दै जुन हैसियतमा संसदमा छ त्यसैअनुसार अघि बढ्नुपर्ने बताए । उनले भने, “विपक्षी दलको सही भूमिका कांङ्ग्रेसले निर्वाह गर्नुपर्छ ।”
 
सानो सङ्ख्यामा संसदमा भए पनि कांग्रेसको भूमिका ठूलो र जिम्मेवारीपूर्ण रहेको उनको भनाइ थियो । कांग्रेसले सजग र इमान्दार भएर प्रतिपक्षीको भूमिका निर्वाह गर्नसके अर्कोपटक लोकतन्त्रको रक्षा गर्न सक्ने गरी संसद्मा बलियो पार्टी बन्ने पनि उनले बताए । 
 
वरिष्ठ नेता पौडेलले स्व एकनाथ रानाभाटले निष्ठावानरुपमा पार्टीमा समर्पण गरेको भन्दै त्यो समर्पण र त्यागको भावना प्रस्तुत गर्न सक्नुपर्छ भने । “आम नेपालीले भरोसा गर्ने ठाउँ भनेको कांग्रेस मात्र रहेको छ” उनले भने, “कांग्रेसले त्यहीअनुसारको आचरण र व्यवहार देखाउनुपर्छ ।” 
 
वरिष्ठ नेता पौडेलले विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्ने  बताए । उनले भने, “वास्तवमा कसैले आफ्नो हैसियत र औकातभन्दा बढी आकांक्षा राख्नु महत्वकांक्षा हो र यो विकृति हो ।” लोकतन्त्रमाथि देशी विदेशी षडयन्त्र भइरहेको पनी उनले बताए । 
 
कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको लोकतन्त्र स्थापनामा रानाभाटले पु¥याएको योगदान सह्रानीय रहेको बताए । 
 
कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, गण्डकी प्रदेश सभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, बागमती प्रदेश सभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, कांग्रेस नवलपरासीका सभापति विष्णु सापकोटा र कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले स्व रानाभाटको राजनीतिक भूमिकाको बारेमा चर्चा गरेका थिए । 
 
रानाभाटको यही फागुन १० गते ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उनी प्रतिनिधिसभाका पूर्वसांसद् हुन् । रासस   
 

शेयर गर्नुहोस:

567
Shares