मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चन्द समूहसँग वार्ताको तयारी भइरहेको छ : मन्त्री गुरुङ

चन्द समूहसँग वार्ताको तयारी भइरहेको छ : मन्त्री गुरुङ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेको बताएका छन् । 
 
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सो समूहलाई वार्तामा आउन आह्वान गरिरहेको र वार्तामा आउने तयारी भइरहेको बताएका हुन् । 
    
“सो समूहको नेतृत्वको पार्टी शान्तिपूर्ण बाटोमा आउने प्रक्रियामा छ, वार्ता नजिक नजिक भइरहेको छ”, सरकारका प्रवक्ता गुरुङले भने, “वार्ताको टुङ्गो लाग्नेछ, प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरिरहेका छन् ।” उनले  प्रधानमन्त्रीको आह्वानअनुरुप वार्ताको वातावरण अघि बढेको आफूले अनुभूति गर्न पाइरहेको उल्लेख गर्दै भने, “वार्ता सफल होस्, म पुनः शान्तिपूर्ण बाटोमा आउन आह्वान गर्दछु, शान्तिपूर्ण, सकारात्मक दृष्टिकोणबाट मात्र सामाजिक र राजनीतिक रुपान्तरणमा जानुपर्छ ।”
 
प्रधानमन्त्री ओलीले सो समूहलाई वार्ताका लागि आह्वान गरिरहेका छन् । भने “मुलुकलाई हिंसात्मक बाटोबाट लानुहुँदैन, प्राकृतिक तथा राजनीतिक घटनाका कारण नेपाली समाज पछाडि परेको छ । कुनै पनि हिंसात्मक आन्दोलन नगरौँ भन्ने नेपाल सरकारको आह्वान हो ।” मन्त्री गुरुङले सबैले मिलेर मुलुकको समृद्धिका लागि काम गर्नुपर्ने र त्यसका लागि सरकार सदा वार्तामा बस्नका लागि तयार रहेको बताए ।
 
सरकारद्वारा प्रतिबन्धित चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएपछि सो समूहलाई लगाइएको प्रतिबन्ध हटाउने तयारी भएको छ ।  सो समूहले वार्ता र संवादका लागि आफ्नो समूह सकारात्मक रहेको सन्देश सरकारलाई पठाइसकेको छ । 
 
सरकारले विध्वंशात्मक गतिविधिमा संलग्न रहेको उल्लेख गर्दै उक्त समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो समूहले भने सरकारलाई औपचारिक रूपमा नै वार्ताको पहल गर्न आग्रह गरिरहेको छ । सो समूहले पहिले प्रतिबन्ध फुकुवा, पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइ गर्न र वार्ताका लागि औपचारिक आह्वान गर्न सरकारसँग आग्रह गर्दै आएको छ । राासस
 

शेयर गर्नुहोस:

162
Shares