मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ


चन्द्रागिरि । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् ।  
  
चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको शिलान्यास गर्दै उनले कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गरे । 
 
वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा ढुक्क हुन आग्रह गर्दै उनले संसदमा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पनि चुनौती दिए ।  
 
प्रधानमन्त्री ओलीले चालेको राजनीतिक कदमको संवैधानिक निरुपण हुँदा मुलुक अप्ठयारो अवस्थामा पुगेको जिकिर गर्दै उनले यद्यपि सरकारले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै यही फागुन २३  गते प्रतिनिधिसभाको बैठक बोलाएको बताए । 
 
“नसोचेको घटनामा मुलुक फसेको छ, यसबाट मुलुकले निकास पाउनुपर्छ, देश, जनता, लोकतन्त्र र संविधानले जित्नुपर्छ”, उनले भने । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यही फागुन ११ गते १३ दिनभित्र संसद् बैठक बोलाउन सरकारका नाममा परमादेश दिएको थियो । 
 
मन्त्रिपरिषद् बैठकले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्टपतिसमक्ष सिफारिश गरेको छ । “सरकार गठन भएदेखि नै जनताको पक्षमा काम हुँदै आएको छ, तर आफ्नै पार्टीबाट असहयोग भएको छ”, मन्त्री श्रेष्ठले भने । 
 
मुलुक पुनःनिर्माण र नवनिर्माणको चरणमा तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्दै उनले यही सरकारले नै रानीपोखरीलगायत संरचनाको निर्माण सम्पन्न गरेको र धरहरा तथा काष्ठमण्डपको छिट्टै निर्माण सम्पन्न गरिने बताए । मन्त्री श्रेष्ठले भने, “आगामी वैशाख १२ गते मध्याह्न १२ बजे काष्ठमण्डपको उद्घाटन गरिन्छ ।”
 
प्रत्येक पालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको उद्देश्य रहेको बताउँदै उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले त्यसको तयारी गरिरहेको र छिट्टै घोषणा गरिने जानकारी दिए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक दृष्टिले नगरपालिकालाई समृद्ध बनाउन लागि परेको बताए । 
 
चन्द्रागिरि नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गरिने प्रतिबद्धता पनि उनले बताए । रासस
 

शेयर गर्नुहोस:

297
Shares