काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ हुनुपर्ने जिकिर गरेका छन् ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिको नवौँ वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र ‘स्वास्थ्य दर्पण विशेष–४’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक परिवर्तन नभई राजनीतिक परिवर्तनले स्थिरता नपाउने बताए ।
“स्थिरता र समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम हुन सकेन, यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भयो”, पूर्व उपप्रधानमन्त्रीसमेत रहिसकेका नेता सिंहले भने ।
पूर्व सांसद् रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलो छिटो जनमतमै जानुपर्ने बताए । गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकका विषयमा राज्यले सबै जिम्मेवारी लिनुपर्ने बताए । चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझै हुन नसकेको बताए । शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक प्रा डा पुकारचन्द्र श्रेष्ठले चिकित्सकले रातदिन दुःख गरे पनि जस पाउने अवस्था नरहेको बताए ।
नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने काला कानून अझै संसदीय समितिमा विचाराधीन रहेकाले त्यसविरुद्ध सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए । कोभिडका कारण पेशाबाट विस्थापित भएका पत्रकारलाई पुनः काम गर्ने वातावरण बनाउन राज्यले पनि सहयोग गर्नुपर्ने उनको माग थियो ।
चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा दिव्या सिंहले आधारभूत आवश्यकता पूरा गर्न पनि चिकित्सकको शुल्क समायोजन हुनुपर्ने बताए । कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्मका प्राचार्य डा मञ्जु मिश्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुन बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा मिडिया प्रालिका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले झापाबाट कर्णालीसम्मका ५०० चिकित्सा क्षेत्रका व्यक्तित्वलाई हालसम्म सम्मान गरिएको बताए । रासस








प्रतिक्रिया