मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छ : सभापति देउवा

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छ : सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्ने बताएका छन् ।  
 
कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बुधबार आयोजित ‘अहिंसा र शान्ति स् आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताएका हुन् ।  
 
“संसद् पुनःस्थापना गर्ने अदालतको आदेशले न्याय र प्रजातन्त्रको जीत भएको छ”, सभापति देउवाले भने ।  
 
पूर्वप्रधानमन्त्री देउवाले अदालतप्रति विचाराधीन मुद्दामा कांग्रेसले यो गर वा ऊ गर भनेर भन्न नमिल्ने भएकाले कांग्रेस चुप लागेर बसेको स्पष्ट पारे । कांग्रेस संसदीय व्यवस्था र प्रजातन्त्रका लागि लडेको पार्टी भएकाले संसद् पुनःस्थापनाले कांग्रेस खुसी रहेको उनको भनाइ छ । 
 
सभापति देउवाले पार्टीको १४औँ महाधिवेशन भदौमा सम्पन्न हुने उल्लेख गरे । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निधिको महत्त्वपूर्ण भूमिका रहेको बताए । विश्वभर निधिको विचार लागू हुँदै गएको सभापति देउवाको भनाइ थियो । 
 
कांग्रेस उपसभापति विमलेन्द्र निधिले पुनःस्थापित संसद्मा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले अदालतको निर्णय कांग्रेसले स्वीकार गर्ने बताउँदै अदालतको आदेशसँगै वर्तमान प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरे । संसदीय प्रक्रिया अहिंसा र शान्तिपूर्ण बाटो भएको उनको भनाइ थियो । 
 
कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले सादा जीवन उच्च विचारका व्यक्ति निधि भएको भन्दै निधिको आदर्श र सिद्धान्तबाट कांग्रेसले पाठ सिक्नुपर्ने बताए । 
 
अहिंसाबाट गरेको आन्दोलन सफल हुने धारणा राख्ने निधि गान्धीवादी नेता भएको उनको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले कांग्रेसले अहिले सत्ताको लोभ गर्न नहुने धारणा राखे । 
 
सो अवसरमा पूर्वमन्त्री तीर्थराम डङ्गोल, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, प्रा डा आनन्दप्रसाद आचार्यलगायतले मुलुकको विकासका लागि शान्ति र अहिंसाको बाटो उपयुक्त हुने बताएका थिए । रासस