काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल परिवार दल काठमाडौँ प्रदेश १ सम्पर्क समितिद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले दल हारेर भए पनि देश बचाउने बेला आएको बताएका छन् । अध्यक्ष ढकालले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई परिवार दलले आत्मसात् गर्ने बताए उनले सर्वोच्चले निर्वाचनमा जाने आदेश दिए परिवार दलले निर्वाचनमा भाग लिने बताए ।
ढकालले परिवार दल जातीय क्षेत्रीय, धार्मिक राष्ट्रवाद नभई नेपाली राष्ट्रवादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रवाद भेनेको सबै जात धर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एकमात्र उद्देश्य नेपाली जनताको सपना साकार पार्ने रहेको बताए । उनले नेपाली राष्ट्रवाद र सपनालाई साकार बनाउन सबै नेपालीहरुलाई अपिल गरे ।
पूर्वमन्त्री ढकालले देशका राजनीतिक दलहरु तथा नागरिकबीच तीव्र ध्रुवीकरण भएकोप्रति चिन्ता व्यक्त गर्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरे । ढकालले जुनसुकै राजनीतिक दलसँग सहकार्य गर्न सकिने बताउँदै परिवार दल नेपाल ‘एक घर सम्पूर्ण नेपाली एउटै परिवार’ भन्ने अवधारणालाई आत्मसात् गर्दै अगाडि बढेको बताए ।
अध्यक्ष ढकालले पुराना राजनीतिक दलहरुले जनतालाई पटकपटक धोका दिएकाले अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै परिवार दल सोही कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागि झुटो आश्वासन दिने, देशलाई मुठभेडतर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाई बदनाम गर्दै हिँड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कार युक्त राजनीतिक शक्ति नेपालको आवश्यकता भएको र त्यसको नेतृत्व परिवार दलले गर्ने बताए ।
दलका महामन्त्री विनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंक्ति लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्वाचनको लागि तयार रहन आग्रह गरे । डाँगीले नेपाली जनताका हरेक दुःखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए । परिवार दल भूकम्प, शीतलहर, बाढीपीडित तथा कोभिड संक्रमणको बेला जनातको घरघरमा पुगेर सहयोग गरेको बताए । उनले परिवार दलको पहलमा विद्यालयसमेत निर्माण भएको जिकिर गरे ।
परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेलले नयाँ विचार दिएर हिँडेको राजनीतिक दललाई ठूला भनाउँदा दलहरुले उठन नदिएको बताउँदै जनतालाई सडकमा ल्याएर शक्ति प्रदर्शन गर्दैमा कुनै राजनीतिक दल ठूलो नहुने बताए । भविष्य भएको पार्टी नेपाल परिवार दल नै हो भन्दै सम्पूर्ण युवाहरुलाई आवद्ध हुन आह्वान गदै नयाँ पुस्तालाई आशा दिने दल परिवार दल भएको बताए ।
दलकी कोषाध्यक्ष एवम् संविधानसभा सदस्य मिलन कुमारी राजवंशीले महिलाहरुलाई राजनीतिमा लाग्न अभिप्रेरित गदै नेताभन्दा जनता चलाख भइसकेकोले अब कुनै पनि राजनीतिक दलको झुटो आश्वासनमा नेपाली जनता नपर्ने बताइन् ।
उनले नयाँ विचारको लागि नयाँ नेतृत्वका साथ परिवार दल अगाडि बढेकोले शान्तिवादी पार्टीमा आवद्ध हुन सबैलाई आह्वान् गरिन् । दलका केन्द्रीय सदस्य विजय कट्टेल दलका केन्द्रीय सल्लाहकार केशवप्रसाद चौलागाईं, गोविन्द मिश्र, प्रकाशबाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, गणेशकुमार श्रेष्ठ, सन्तबहादुर पन्तलगायतको सहभागिता रहको थियो । भेलाले नेपाल परिवार दल काठमाडौँ प्रदेश १ सम्पर्क समितिको संयोजकमा ढुण्डीराम खनाललाई चयन गरेको छ ।








प्रतिक्रिया