नेपाल

ओलीको सन्की व्यवहारले दिनगन्ती सुरू : गगन थापा

ओलीको सन्की व्यवहारले दिनगन्ती सुरू : गगन थापा


चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सन्की भएकै कारण नेपालको अवस्था अस्तव्यस्त भएको बताएका छन् । 
 
चितवन कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको नारा लगाएको ओली सन्की व्यवहारले जनताले दुःख पाए ।’  
 
कोरोना भाइरसको जोखिममा जनताको हालखबर सोध्नुपर्ने बेलामा ओलीकै सन्की व्यवहारले गर्दा सडकबाट जिन्दावाद र मुर्दावाद भन्न बाध्य भएको उनले बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली भनेर प्रधानमन्त्री ओलीले लगाउँदै आएको नारा सन्की प्रधानमन्त्री, अस्तव्यस्त नेपालमा परिणत भएको छ,’ उनले भने । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर इतिहासमै सबैभन्दा ठूलो भूल गरेको उनले बताए ।
 
आफू अनुकूल नभएपछि आफ्नै पार्टी फुट्ने गरी संविधानविपरीत काम गरेर जनतालाई दुःख दिन चुनावको नाटक गरेको उनको आरोप छ । संसद् पुनःस्थापनाको विकल्प नभएको हुँदा प्रधानमन्त्रीको कुरामा विश्वास मानेर नबस्न पनि चितवनवासीलाई उनले आग्रह गरे । 
 
‘प्रधानमन्त्री ओलीको दिनगन्ती सुरू भइसकेको छ,’ उनले भने, ‘कुरो संसद् विघटनको मात्रै होइन, संविधानलाई लत्याएर काम गर्न पाइन्छ कि पाइन्न भन्ने ठूलो प्रश्न छ ।’ संविधानमा हुँदै नभएको निर्णय लिएर सत्ता कब्जामा लिएर जिल्लाजिल्लामा हाँस्यव्यङ्ग्य र प्रहसन गर्दै हिँडेको नेता थापाले बताए । 
 
‘राम्रो काम गरेको भए जनस्तरबाटै समर्थन हुन्थ्यो,’ उनले भने, ‘नेपालको नयाँ नक्सा मात्रै जारी गर्दा पनि सरिता गिरीबाहेक सबैको साथ र समर्थन पाएकै थियो । तर, अहिले आफ्नै पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसक्दा संसद विघटन गरेर जिल्लाजिल्लामा हँसाउने कार्यक्रम गर्दै हिँड्नुभएको छ ।’ 
 
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईँले ओली सरकारको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेसले देशभर एकसाथ प्रदर्शन गरेको बताइन् । सरकारको गलत कृयाकलापप्रति नेपाली कांग्रेस सधैँ सजग रहने हुँदा जनतासँगै सडकबाट संघर्ष गर्दै आएको उनले बताइन् ।
 
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने ओली सरकारकै पालामा देशमा अनियमितता, हत्या, हिंसाजस्ता जघन्य अपराधका घटना बढेको बताए । अहिलेसम्म कञ्चनपुरको निर्मला पन्तको हत्यारा पत्ता लगाउने सरकारले ‘भागरथी भट्टको हत्यारालाई पानीमुनि गए पनि छोड्दिनँ’ भनेर आफैँले आफ्नै बेइज्जत गरेको आरोप लगाए । 

शेयर गर्नुहोस:

351
Shares