काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड-१९ को खोप नेपालमा यथाशक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।
कांग्रेस, सूचना, सञ्चार तथा प्रचार केन्द्रीय विभागले कोभिड–१९ को उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको खोप भित्र्याई निःशुल्क उपलब्ध गराउन आग्रह गरेको हो ।
विभागको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउनका लागि मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले यसअघिको निर्णयानुरुप पार्टीको परिमार्जितरूपमा सार्वजनिक गरिएको वेबसाइटलाई अझ परिष्कृत गर्दै लैजाने, पार्टीका आठै संसदीय दल, जिल्ला कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिको वेबसाइट सञ्चालनका लागि निर्मित करीब डेढ सय ‘सब डोमेन’ को कार्यान्वयन प्रक्रियालाई आगामी माघ १५ गतेसम्म सार्थक गतिमा अघि बढाउने निर्णय गरेको छ ।
विभागले गत छ महिनायता हरेक मङ्गलबारदेखि शुक्रबारसम्म सांँझ ७:१५ बजे पार्टीको फेसबुक पेजबाट नियमित लाइभमा जारी खुला अन्तरक्रियाको कार्यक्रम ‘छहारी संवाद’ लाई निरन्तरता दिंँदै स्रोता क्लब गठन गर्ने निर्णय गरेको सचिव दिनेश थापा मगरले जानकारी दिए । विभागले केही सदस्यको जिम्मेवारी हेरफेर तथा विभिन्न उपसमिति र कार्यदलसमेत गठन गरिएको छ ।
यसैगरी बैठकले विभाग प्रमुख विश्वप्रकाश शर्माका संयोजकत्वमा देशका लागि कांग्रेसको आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा कार्यदलसमेत गठन गरेको छ ।
कांग्रेसको नीति, विचार र सिद्धान्तलाई नागरिकसम्म पुर्याउन प्रविधिको अधिकतम प्रयोग गर्ने नीतिबमोजिम आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा कांग्रेस एप सार्वजनिक गर्ने निर्णयसमेत गरिएको उनले बताए । रासस








प्रतिक्रिया