मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

पृथ्वीजयन्तीमा माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म

पृथ्वीजयन्तीमा माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म


काठमाडौँ । २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रनिर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइएको छ । सोही क्रममा सिंहदरबारको पश्चिम मूलद्वारअगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरियो । 
 
राष्ट्रिय पोशाक तथा आआफ्ना लोकसंस्कृति झल्कने वेशभूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुभावले ¥याली गर्दै शालिकमा पुगेर माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरे । उक्त क्रम दिनभर नै चल्यो ।
 
विसं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायणले बाइसौँ–चौबीसौँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुुनिक नेपाल खडा गरेका हुन् । 
 
 
एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहिआएको छ । उनका ती विचारलाई नेपाली समाजले पृथ्वीनारायणका दिव्योपदेशका रुपमा बुझ्दै आएका छन् । बीस वर्षका उमेरमा गद्दी आरोहण गरेका पृथ्वीनारायणको पूरै जीवन नेपालको एकीकरणमै बितेर ५२ वर्षका उमेरमा विसं १८३१ माघ १ गते निधन भएको थियो । उनी र हाम्रा वीर पूर्खाको योगदानकै कारण दक्षिण एसियामा नेपालमात्रै उपनिवेश हुनबाट जोगिएको थियो । 
 
पृथ्वीनारायणलाई नेपालको परिचय र पहिचानका रुपमा लिने गरिन्छ । पृथ्वीजयन्तीकै अवसरमा रत्नपार्कस्थित शान्तिबाटिकामा बृहत् नेपालको झण्डा प्रस्तुत गरिएको थियो । 
 
समाजका विभिन्न क्षेत्रका महानुभावको अगुवाइमा भएको उक्त कार्यक्रमपछि ¥यालीले नगरका विभिन्न स्थान परिक्रमा गरी भद्रकालीमा सभा गरेको थियो । उक्त सभामा  वक्ताले पृथ्वीनारायणको योगदानको कदरस्वरुप उनको तस्बीर अङ्कित मुद्रा निकाल्न, पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनका लागि सार्वजनिक बिदाको घोषणा गर्न तथा दिव्योपदेशलाई विद्यालय तथा कलेजका पाठ्यपुुस्तकमा समावेश गर्न माग गरे । 
 
पृथ्वीनारायणको जीवनी झल्कने सङ्ग्रहालय स्थापना गर्न र जीवनीलाई लिएर राज्यका तर्फबाट वृत्तचित्र बनाउन पनि सो अवसरमा माग गरियो । सोही उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित  कार्यक्रममा त्यहाँ अवस्थित पृथ्वीनारायणको शालिकमा प्रधानसेनापति पूर्णचन्द्र थापासहित उच्च सैनिक अधिकृतले पुष्पहार र पुष्पगुच्छा अर्पण गरेका थिए ।  

शेयर गर्नुहोस:

54
Shares