काठमाडौं । काठमाडौं उपत्यका प्रदूषित सहरमध्ये एक नम्बरमा परेको छ । वातावरणविद्हरूका अनुसार उपत्यकामा फैलिएको धुवाँ र धुलोका कणका कारण धुम्म कुहिरो लागेको जस्तो देखिएको हो । तर, यो कुहिरो नभएर केन्द्रीय राजधानी काठमाडौंमा प्रदूषण ह्वात्तै बढ्नाले यस्तो भएको वातावरणविद्हरूको भनाइ छ ।
चिकित्सकहरूले उपत्यकामा एक्कासि बढेको वायु प्रदूषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने बताएका छन् । दुई दिनसम्म घाम नलागे पनि काठमाडौंमा न्यूनतम तापक्रम भने घटेको छैन । न्यूनतम तापक्रम अझ पहिलाभन्दा बढेको छ । तापक्रम बढेसँगै काठमाडौंको वायुको प्रदूषण पनि ह्वात्तै बढेको विज्ञहरूले जनाएका छन् ।
काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तहमाथि पुगेको छ । सरकारले आवश्यक नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । केही दिनअघि नेपालको पश्चिमी भू–भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान पहिलो हिउँदे वर्षा भएको थियो । तर, यसले आकाश खुलाउन सकेको छैन ।
बुधबार पनि बिहानैदेखि घाम देखिएको छैन । हुस्सु लागेजस्तो काठमाडौं धुम्म भएको छ र भिजिबिलिटी एकदमै घटेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव केही दिन रहने बताएको छ ।
सोमबार काठमाडौंको वायु प्रदूषणले खतराको तह नै पार गरेको थियो । सोमबार एअर क्वालिटी इन्डेक्स अर्थात् एक्युआई ४८७ पुगेको थियो ।
एक्युआई ५० सम्म हुनु राम्रो, ५० देखि १०० सम्मलाई मध्यम र १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुने मानिन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुने र ३०० पुग्नु भनेको जोखिमपूर्ण रहेको विज्ञहरूको भनाइ छ । यसभन्दा माथि जानुचाहिँ घातक हुुने उनीहरूको भनाइ छ । यसरी उपत्यकाको वायु प्रदूषण घातक स्थितिमा पुगेको पाइएको छ । काठमाडौं यही अवस्थामा रहने भएकाले सरकारले नागरिकलाई अनावश्यकरूपमा बाहिर ननिस्कनसमेत आग्रह गरेको हो ।
वातावरण विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै वायु प्रदूषण अत्यधिक बढेकाले सचेत हुन अनुरोध गरेको छ । विभागले जारी गरेको विज्ञप्तिमा बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका समस्या भएका व्यक्तिहरूलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घरबाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
काठमाडौँ प्रदूषित सहरमा नम्बर एक
विश्वका ५० सहरमध्ये सबैभन्दा बढी प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमा परेको छ । विश्वका प्रमुख सहरहरूको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको हो ।
आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई ३७२ पुगेको छ । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनामको हनोई, छैटौंमा पाकिस्तानको कराँची, सातौंमा बंगलादेशको ढाका आठौँमा भारतको मुम्बई छ ।
प्रदूषणका कारण काठमाडौंमा सोमबारदेखि नै सर्वसाधारणहरूले आँखा पोलेको महसुस गरेका छन् । वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरूको आग्रह छ ।
मानव स्वस्थ्यमा गम्भीर असर
वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको बताएका छन् । हिमालय टाइम्ससँग कुरा गर्दै उनले हालको प्रदूषणले मानव स्वस्थ्यमा गम्भीर असर पार्ने हुँदा सचेत रहन आग्रह गरेका छन् ।
उनले वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदूषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउन सुझाव दिए । उनले भने, ‘प्रदूषण त छ । अस्तिसम्म प्रदूषणका कणहरू डिस्पर्सल भइरहेको थियो । अहिले जान नसकेर थुप्रिएको जस्तो लागेर धुम्म देखिएको हो । यो सिजन यस्तै हुने हो तर यसपालि अलि बढी देखियो । यदि अलिअलि पानी पर्ने हो भने घट्छ । किनकि अरूबेला भन्दा गाडी कम चलेको नै छ । इँट्टाभट्टा कम नै चलेका छन् । त्यसबाहेक हामीले प्रचारप्रसार गर्ने काम पनि गरिरहेका छौँ ।’
उनले नेपालगञ्ज, विराटनगरलगायत क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरे । विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि आग्रह गरेको छ । निरौलाले मंगलबार नै प्रेस विज्ञप्ति जारी गरेर सर्वसाधारणलाई सचेतसमेत गराएका थिए ।
मर्निङ वाक नगर्न सुझाव
जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वायु मण्डलमा देखिएको फोहोरका कारण बिहान र साँझ वाकिङ नगर्न सुझाव दिएका छन् । पौडेलले उपत्यकासहित देशका अधिकांश स्थानमा तीन महिनायता पानी नपरेको जसकारण यो समयको प्रदूषण वायुमण्डलमा भरिएकाले सतर्क रहन आग्रह गरेका हुन् ।
काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी रहेको बताउँदै पौडेलले सवारीसाधनबाट हुने उत्सर्जन, विकास निर्माणका गतिविधिबाट निस्किने धुलोका कण, उद्योगधन्दा तथा इँटाभटाबाट हुने प्रदूषण, जथाभावी फोहोर फाल्ने तथा बाल्नेलगायतका कार्यहरू काठमाडौंमा वायु प्रदूषण हुनुको प्रमुख कारणहरू रहेको बताए ।
एक तथ्यांकअनुसार वायु प्रदूषणका कारण विश्वभर करिब ६० लाख मानिसहरूको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८ मा मात्र नेपालमा वायु प्रदूषणका कारण करिब सात हजार जनाको मृत्यु भएको थियो । एजेन्सी








प्रतिक्रिया