काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी चरित्र र माधवकुमार नेपालको कुण्ठाका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको दाबी गरेका छन् ।
ओली पक्षीय नेकपाको काठमाडौँ जिल्ला कमिटीले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उनले दाहालको अवसरवादी चरित्र र नेपालको कुण्ठाका कारण नेकपामा विवाद उत्पन्न भएको बताए ।
उनले भने–‘प्रचण्ड अवसरवादका लागि जे पनि गर्न लज्जाबोध नगर्ने र नेपालको कुण्ठाका कारण अहिले पार्टीमा समस्या उत्पन्न भएको हो । राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव पारित गर्ने तयारी पहिलेदेखि रहेछ । राष्ट्रपति कार्यालयमा विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर लिएर पुग्नु यसको उदाहरण हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आएका उपप्रधानमन्त्री पोखरेलले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकै कारण पार्टीमा विभाजन नआएको उनको भनाइ थियो । उपप्रधानमन्त्री पोखरेलले पार्टीका केही नेताहरूको पदलोलुपताका कारण विभाजन आएको पनि दाबी गरे । ‘केही साथीहरुले असंवैधानिक कदम चालेको भनी मन दुखाउनु भएको छ,’ उनले भने, ‘घटनाहरु एक्लाएक्लै एकै पटक प्रकट हुँदैनन् । यो परिस्थिति आउनुको पछाडि हिजोका भ्रुणहरु कारक हुन् । यसको कारण नांगो रुपमा पार्टी विभाजनको रुपमा आएको हो ।’
महाधिवेशनबाट आएको प्रधानमन्त्री र संसदीय दलको नेतालाई बीचमै हटाउन खोज्नु गलत भएको उनको भनाइ थियो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले म अब अध्यक्ष हुनेछैन, म अध्यक्ष दिन्छु भन्नु भएको थियो,’ पोखरेलले भने, ‘दोस्रो तहका व्यक्तिलाई दिऊँ भन्दा किन घोसे मुन्टो लगाएको ? उहाँहरु कति वर्षदेखि नेतृत्वमै हुनुहुन्छ ? उहाँहरू अहिले नै नगद माग्नुहुन्छ ।’








प्रतिक्रिया