काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले संविधानको भावनाविपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताए ।
संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै पनि हिसाबले उचित नभएको उनले बताए । संसद् विघटन संविधान, जनता, राजनीतिक दलको भावना, नेपाली जनताले गरेको क्रान्ति, परिवर्तनको आकांक्षाअनुरुप तथा नेकपाको निर्णयअनुरुप छ त भनी प्रश्न गर्दै उनले भने, “यो कदम हामीलाई स्वीकार्य छैन ।”
पटकपटक प्रतिनिधिसभा विघटन भएर मुलुक स्थिरतामा प्रवेश गर्न नसकेको भनेर संविधानमा स्पष्टसँग विघटन गर्न नसक्ने प्रावधान राखिएको स्मरण गर्दै उनले संसदभित्र प्रधानमन्त्री निर्वाचित हुन नसक्ने अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने व्यवस्था गरिएको बताए ।
अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगेको र त्यहाँबाट संविधानको मर्म र भावनानुसारको फैसला आउने विश्वास व्यक्त गरे । “मलाई पूरै विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मा पाएको निकायबाट संविधानको मर्म, प्रावधान, जनताको अभिमतअनुसार समुचित व्याख्या हुनेछ”, उनले भने, “प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ, हुन्छ, हुन्छ, हुन्छ ।”
प्रतिनिधिसभा विघटन भयो अब के हुन्छ भनेर कोही पनि चिन्तित हुनु नपर्ने उल्लेख गर्दै उनले सरकारको कदमविरुद्ध सडकमा उत्रिनाको विकल्प नभएको बताए । “हामी देशलाई सही बाटोमा, समाजवाद तथा समृद्धिको दिशामा, सामाजिक न्याय, समानताका आधारमा समाजको पुनःसंरचना गर्न चाहन्छौँ । त्यो काम गर्ने शक्ति नेकपाबाहेक कोही छैन”, उनले भने ।
समाजवादलाई अगाडि बढाउनुपर्ने र गणतन्त्रलाई समृद्ध बनाउनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधान, लोकतन्त्रको मूल्यमान्यता, जनाधिकार र जनचाहनाका विरुद्ध कदम चालेको बताए । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत सबै राजनीतिक दल, बुद्धिजीवी सडकमा उत्रेको उल्लेख गर्दै उनले प्रतिनिधिसभाको पुनःबहाली गरेर देशलाई सही दिशामा लैजान सबै शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।
प्रधानमन्त्री पदमा बसेको व्यक्तिले पार्टीभन्दा अलग भएर स्वेच्छाचारी ढङ्गबाट काम गर्न नपाउने प्रष्ट पार्दै उनले पार्टी नेतृत्व गरेको व्यक्ति पार्टी अनुशासनअनुसार नचल्दा समस्या भएको पैदा भएको विचार व्यक्त गरे । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई अस्वीकार गर्नेबाहेक अर्को उपाय नभएको उल्लेख गर्दै उनले संविधानमा नभएको प्रावधानविपरीत कदम चालेकाले पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरेको प्रष्टयाए । “उहाँलाई पार्टी अध्यक्षबाट हटाइएको हो । पार्टी सदस्यबाट हटाएका छैनौँ”, अध्यक्ष नेपालले भने ।
प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति पश्चात्ताप गरेर आएमा ओलीसँग सहकार्य गर्न आफूहरु तयार रहेको उनले बताए । उनले जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै वामपन्थी, लोकतन्त्रवादी, परिवर्तनकारी एवं नागरिक समाजका अगुवालाई एकताबद्ध हुन पनि आग्रह गरे ।








प्रतिक्रिया