काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन सुरु गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले मंगलबार प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।
प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी भएका थिए । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत हुने भएको छ । प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताको सहभागिता रहेको थियो ।
भृकुटीमण्डपस्थित सभालाई तीनै नेताले सम्बोधन गरेका थिए । नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ । रासस








प्रतिक्रिया