मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विश्वासको मत लिएर अगाडि बढ्छु : मुख्यमन्त्री पौडेल

विश्वासको मत लिएर अगाडि बढ्छु : मुख्यमन्त्री पौडेल


हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन् । पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि नचाहनेको गठजोडबाट आएको प्रस्ताव भएकाले यो घटनाले गम्भीर बनाएको बताए । 

पौडेलले सरकारविरुद्ध सरकारमै रहेका मन्त्रीले अभिव्यक्त गरेको धारणाप्रति विरोध जनाए । उनले सहकर्मी मन्त्रीकै अगुवाइमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनुलाई दुःखद् परिघटनाको रुपमा लिएको उल्लेख गरे ।  

मुख्यमन्त्री पौडेलले दर्ता गरिएको अविश्वासको प्रस्तावको सदनमार्फत सानदार खण्डन गरेर विश्वासको मत प्राप्त गर्ने धारणा राखे । पौडेलले मन्त्रीले राजीनामा पत्रमा आरोप लगाएजस्तो सरकार सुस्त नभएको दाबी गरे । मुख्यमन्त्री पौडेलले आफ्नो पक्षमा बहुमत पु¥याउन तयार रहेको बताए ।

प्रदेशसभामा शुक्रबार सरकारविरुद्ध प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमा प्रदेश सभाका ४५ जना सदस्यले हस्ताक्षर गरेका छन् । त्यस्तै आजै प्रदेशका तीन मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका थिए ।  

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र दर्ता गराएका थिए । राजीनामा पत्रमा मन्त्रीले मुख्यमन्त्री पौडेलका कारण सरकारको कामकारबाही सुस्त भएको आरोप लगाएका छन् । रासस