मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

एक ढिक्का भएर निर्वाचनको तयारीमा लाग्न नेकपाको आह्वान

एक ढिक्का भएर निर्वाचनको तयारीमा लाग्न नेकपाको आह्वान


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले सम्पूर्ण पार्टी पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गरेको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा र मुलुक निर्वाचनोन्मुख भइसकेका परिप्रेक्ष्यमा मातहतका सबै कमिटी, जनवर्गीय र सरोकार सङ्गठन, पार्टी सदस्य र जनप्रतिनिधिलाई उक्त आह्वान गरेको हो ।

Advertisement

बैठकले राज्यका सबै अङ्गलाई शान्तिसुरक्षा, अमनचयन र सुशासनका क्षेत्रमा पूर्ववत् र अझ प्रभावकारी काम गर्न आह्वान गर्दै शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर गर्ने कुनै पनि कदमप्रति सजग हुन आह्वान गर्ने प्रस्ताव पनि पारित गरेकोे नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । 

बैठकमा अध्यक्ष ओलीले यही पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णयमा पार्टीका केही नेताबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षड्यन्त्र चिर्न तथा जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको बाध्यात्मक कदमका रुपमा ग्रहण गर्ने प्रस्ताव पारित भएको छ । 

“जननिर्वाचित सरकारलाई कामै गर्न नदिने, मुलुकको नेतृत्व गर्न प्राप्त ऐतिहासिक अवसरलाई आत्मसात् नै गर्न नचाहने र अवसरवादी एवं स्वार्थकेन्द्रित गठबन्धनका बलमा मुलुकलाई अगाडि बढ्नै नदिने क्रियाकलाप लोकतन्त्रको मूल्यमान्यता विपरीत, जनआकाङ्क्षाविपरीत तथा मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने केही नेताहरुको क्रियाकलापकै कारण यो स्थिति उत्पन्न भएको ठहर गर्दछ । 

नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको कुरा स्पष्ट गरेको छ ”, पारित प्रस्तावमा भनिएको छ, “त्यसैले सदनमा बहुमत प्राप्त दलबाट सर्वसम्मतरुपमा निर्वाचित दलको नेता र त्यसै हैसियतमा निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहर गर्दछ ।”

बैठकले सबै राजनीतिक दललाई आमनिर्वाचनको  अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदुढ गर्न आह्वान गर्दै राज्यका सबै संस्था, निजामती र सुरक्षा अङ्ग, प्रदेश सरकार र प्रदेशसभा एवं स्थानीय तह आआफ्ना क्षेत्रमा कर्तव्य निर्वाह गर्दै क्रियाशील भइरहेको तथा जनतामा उन्नत लोकतान्त्रिक चेतना रहेको परिवेशमा लोकतान्त्रिक प्रणाली कमजोर हुन्छ कि भन्ने कुनै पनि आशङ्का निराधार रहेकामा विश्वस्त हुन आग्रह गरेको छ । 

“परिवर्तनका पक्षधर सबै वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आपसी संवाद, समझदारी कायम गर्दै अगाडि बढ्न आग्रह गर्दछ । हाम्रो पार्टी र सरकार नेपालको संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनका उपलब्धिको रक्षा एवं विकासका लागि कृतसङ्कल्पित रहेको विश्वास दिलाउन चाहन्छ”, पारित प्रस्तावमा भनिएको छ ।

बैठकले २०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकृत भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी र अन्य नेतृत्वदायी कमिटीको मूल दायित्व दुई वर्षभित्र एकता महाधिवेशन सम्पन्न गरी निर्वाचित कमिटीलाई नेतृत्व हस्तान्तरण गर्नु रहेकामा ‘केही नेताका पदीय आकाङ्क्षा र स्वार्थकेन्द्रित गतिविधिका कारण कमिटीले उक्त दायित्व पूरा गर्न नसकेका पृष्ठभूमिमा’ पार्टीका प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटी विस्तार गरी पार्टीमा नयाँ गति र जीवन दिन गर्नुभएको कमिटी विस्तारलाई अनुमोदन गरेको छ । 

बैठकले करिब तीन वर्षका अवधिमा दूरगामी महत्त्वका विकास कार्य, रणनीतिक पूर्वाधारको निर्माण, सामाजिक न्याय र सुरक्षाको विस्तार, संविधान एवं सङ्घीयताको कार्यान्वयन, राष्ट्रियताको  सुदृढीकरण एवं नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका क्षेत्रमा सरकारले गरेका महत्त्वपूर्ण कामलाई उच्च मूल्याङ्कन गर्दै ती कार्यलाई जनताबीच स्थापित गर्ने, सुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्य गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने सङ्कल्प गरेको छ ।

शेयर गर्नुहोस:

621
Shares