काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाँकी नराख्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
हालै बढुवा भएर अतिरिक्त महानिरीक्षक भएका पोखरेलले राष्ट्रिय सभागृहमा आज आयोजित समारोहमा मुलुकले लिएको समृद्धिको लक्ष्य प्राप्त गर्न प्रहरीको अहम् भूमिका रहने बताए ।
उनले कोभिड–१९ को सङ्क्रमण जोखिमको वर्तमान विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको छ भने । “यो विश्वासलाई अझै बढाउँदै लैजानुपर्छ प्रहरी नागरिकमैत्री भएमा मात्रै समुदायको सहयोग पाइन्छ”, प्रहरी अतिरीक्त महानिरीक्षक पोखरेलले भने ।
व्यावसायिक, लागनशील, असल आचरणका साथ सङ्गठनले दिएको जिम्मेवारी बहन गर्दै लिइएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले प्रहरीले कुनै लोभ लालचमा लागेर सङ्गठनविपरीत हुने गरी कार्य गरेमा भने कुनै माफी दिन नसकिने जानकारी दिए ।
यसैबीच, काठमाडौँका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको मित्रनगरबाट दुर्लभ वन्यजन्तु सालकको खबटासहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको छत्रे देउराली घर भएका सुवास तामाङ भन्ने सुजन तामाङ रहेको प्रहरीले जनाएको छ । सालकको खबटा र अस्थिपञ्जर बेचबिखन भइरहेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले तीन फिट छ इञ्च लम्बाइ भएको दुई किलो ३०० ग्राम तौलको सालकको खबटासहित उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको छ । रासस












प्रतिक्रिया