हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहेसम्म नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दाबी गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुरले हेटौँडामा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले सर्वसत्तावाद ल्याउन खोजे पनि जनताले स्वतन्त्र र लोकतन्त्रका लागि लडेकाले त्यो सम्भव नरहेको बताएका हुन् ।
उनले ओली सरकारकै अकर्मण्यताले सडकमा राजाको पक्षमा नारा लागेको भन्दै राजा फर्कने सम्भावना पनि नरहेको दाबी गरे । उनले वर्तमान सरकारकै कारण भ्रष्टाचार, बलात्कारजस्ता घटना बढिरहेको भन्दै भ्रष्टाचार, बलात्कारजस्ता विकृतिको अन्त्य र सर्वसत्तावादको विरुद्धमा कांग्रेस सडकमा उत्रिएको बताए ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले औषधि खरिदमा भएको भ्रष्टाचारलाई ढाकछोप गरेर सरकारले भ्रष्टाचारलाई नै प्रोत्साहन गरेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्यांकले यसलाई पुष्टि गरिदिएको बताए ।
उनले सडकमा देखिएको राजावादीको आन्दोलनलाई लक्षित गर्दै नेपालमा राजा आउन नसक्ने बताए । उनले भने ‘जनताले नयाँ बिहान रोज्ने गर्छ, पुरानो चिहान रोज्दैन ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतले सरकार जनताको हितमा खटिनुपर्ने समयमा आफ्नै स्वार्थमा डुबेकाले जनताको पक्षमा कांग्रेस सडकमा उत्रिएको बताए ।
उनले अब नेपाललाई कोरोना र कम्युनष्टि सरकार मुक्त बनाएरै छाड्ने दाबीसमेत गरे । कार्यक्रममा तत्कालीन एमालेका जनप्रतिनिधिसमेत भईसकेका अधिवक्ता ईश्वराज ढकाललगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका महानुभावलाई सभापति देउवाले स्वागत गरेका थिए ।
विरोध सभाअघि हेटौम्डाको सानोपोखरा, चौकीटोली, जिल्ला प्रहरी कार्यालय चोक र फरेष्ट्री चोकबाट ¥याली निकालिएको थियो ।












प्रतिक्रिया