काठमाडौँ । नेपालमा मंगलबार कुल ८९४७ जनाको नमुना परीक्षण गरिएकोमा १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार थप २३ सहित १६३७ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा थप १६२१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २९ हजार ५४ पुगेको छ । जुन कुल संक्रमितको ९४.११ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप ५९४ जना संक्रमित थपिएका छन् । काठमाडौँका ४१२, ललितपुरका ११३ र भक्तपुरका ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख १३ हजार ४२१ पुगेको छ । जसमा काठमाडौँमा कुल ९१ हजार १८४ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १३ हजार ९०३ जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार २३९ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५२३ जना र आइसोलेसनमा १२ हजार ६८६ जना रहेका छन् ।












प्रतिक्रिया