गण्डकी । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । केही समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा सोमबार राति निजी निवासमा निधन भएको नेपाली कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए ।
तीन वर्षअघि प्रतिनिसभा निर्वाचनका समयमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसीले तत्कालीन पोखरा नगरपञ्चायतको प्रधानपञ्चको जिम्मेवारी पनि निभाएका थिए ।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहँदा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीका साथै पहिलो संविधानसभामा संविधानसभा सदस्य बनेका थिए । केसी रारा चाउचाउ, जलविद्युत्लगायत विभिन्न व्यापार व्यवसायमा सफल थिए । सामाजिक क्षेत्रमा पनि उनको महत्त्वपूर्ण योगदान छ ।
कांग्रेसद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन् । विशिष्ट समाजसेवीको समेत पहिचान बनाएका केसीको गए राति पोखरास्थित आफ्नै निवासमा निधन भएको हो ।
सभापति देउवाले सामाजिक सञ्जालमार्फत उनको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै केसीको निधनले कांग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी, समाजसेवी र कर्मशील व्यक्तित्व गुमाएको बताएका छन् ।
सभापति देउवाले दुःखको यस घडीमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सांसद् एवं पार्टीका आमन्त्रित केन्द्रीय सदस्य केसीको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गरेका छन् ।
निष्ठा, लगन र अनवरत कर्मले केसीको व्यक्तित्व अग्लिएको उल्लेख गर्दै नेता पौडेलले कास्केली जनताको सुख दुःखमा उनको साथ र सहयोग रहेको बताएका छन् । नेता पौडेलले स्व केसीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले पनि पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य केसीको निधनको खबरले मर्माहत बनाएको उल्लेख गर्दै शोकको यस घडीमा केसी परिवारप्रति समवेदना तथा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्रीबाट श्रद्धाञ्जली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा गए राति कास्कीमा निधन भएको थियो ।












प्रतिक्रिया